वन व्यवस्थापनमा नमुना बन्दै लुम्बिनी साझेदारी बन, पालिकालाई डम्पिङ साइट पनि दिने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु। रूपन्देहीको कञ्चन गाउँपलिकास्थित लुम्बिनी साझेदारी वनले सञ्चालन गरेको दिगो वन व्यवस्थापन कार्यक्रम निकै प्रभावकारी भएको एक कार्यक्रमका वक्ताले बताएका छन् ।
विगत १० वर्षदेखि सञ्चालन भइरहेको दिगो वन व्यवस्थापनतर्फ वनले धेरै उपलब्धि हासिल  गरेको स्थलगत अध्ययनबाट देखिएको हो । मंगलबार वनको कार्यालय रहेको स्थलमा एउटा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो भने वनले गरेको दिगो वन व्यवस्थापन कार्यक्रमको स्थलगत अध्ययन कार्यक्रम पनि राखिएको थियो ।  कार्यक्रममा सहभागि सरोकारवालाले लुम्बिनीमा दिगो वन व्यवस्थापनको पक्ष नमुना भेटिएको बताए । वनका बिभिन्न ब्लकहरू, नयाँ पुराना रूखहरूको स्थिति, डढेलो नियन्त्रणको क्षेत्रमा गरेको काम र त्यहाँका बिरुवाको अवस्था हेर्न पुगेको टोली निरीक्षणपछि खुसी भएको थियो ।

स्थलगत अध्ययनको क्रममा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वनको दिगो वन व्यवस्थापन र नवप्रवर्द्धनका कार्यक्रमबाट आफू प्रभावित भएको बताए । वन संरक्षणबारे वनबाट धेरै कुरा सिकेको उनले बताए । सैनामैना नगरपालिका प्रमुख फणिन्द्र शर्मा र जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख उमाकान्त चापागाँईले सामुदायिक र साझेदार वन व्यवस्थापनले वन फँडानी भयो भन्नेहरुकालागि लुम्बिनी साझेदार हेर्न लायक ठाउँ बनेको बताएका थिए ।

वनका अध्यक्ष राजेन्द्र प्रसाद चौधरी र वनका पदाधिकारीले स्थलगत अध्ययनको उद्देश्यका बारेमा बताएका थिए । उनले रूपन्देही जिल्लामा मात्र नभएर प्रदेशमै वन नमुना रहेको बताए । कार्यक्रममा सैनामैना नगरपालिका प्रमुख फणिन्द्र शर्मा, कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख सजरुद्धिन खान, गैँडहवा गाउँपालिकाका अध्यक्ष ससेन्द्र  पौडेल, डिभिजन वन कार्यालयका प्रमुख प्रभात सापकोटा, बिभिन्न वडाअध्यक्षहरू, कर्मचारी, पत्रकार लगायतको सहभागिता थियो ।

यसैबीच सोही वनको उत्तरी क्षेत्रमा डम्पिङ साइट बनाउने विषय सहमति नजिक पुगेको छ । लामो समयदेखि विवादमा रहेको सो विषयबारे मङ्गलबारको कार्यक्रममा सहभागि केही व्यक्तिबाहेक धेरैले फोहर व्यवस्थापन गर्नको लागि वनको वडा नम्बर १० मा पर्ने उत्तरी क्षेत्रको भाग उपयुक्त रहेको बताए । मानवबस्तीदेखि करिब ७ किलोमिटर टाढा रहेको स्थानमा अत्याधुनिक तवरले फोहर व्यवस्थापन गर्न समस्या नहुने धेरैले बताए । फोहर व्यवस्थापनको उपयुक्त ठाउँ नभएर हैरानी खेपेका ३० औँ हजार सर्वसाधारण डम्पिङ साइट निर्माणबाट प्रभावित हुने बताइन्छ ।

प्रमुख जिल्ला अधिकारी अर्यालले पनि जनतासँग अब विकास रोज्ने कि अधिकार खोज्ने भन्ने अधिकार रहेको बताउँदै अधिकारभन्दा विकासलाई जोड दिन आग्रह गरे । पालिकाको सफलता र असफलता पनि फोहर मैला व्यवस्थापनसँग जोडिने भन्दै पालिकाका प्रमुखहरूले फोहर मैलाको  दिगो व्यवस्थापनको लागि वडा नम्बर १० को जङ्गल निकै उपयुक्त पालिकाका प्रमुखहरूले बताएका थिए ।

वनमा फोहर व्यवस्थापन गर्नको लागि स्थानीयस्तरदेखि केन्द्रसम्मको विज्ञ समुहबाट अध्ययन भइसेकेको छ । वातावरणीय प्रभाव मूल्यांकन, वन समितिको सहमति र पालिकाको सिफारिसपछि मन्त्री परिषद्को निर्णयले पनि लुम्बिनी साझेदार वन क्षेत्रमा फोहर मैला व्यवस्थापन गर्न सकिने भन्दै निर्णय गरेको छ ।

यसै निर्णयको आधारमा स्थानीय पालिकाका प्रमुख, वडा अध्यक्ष र वनका पदाधिकारी डम्पिङ साइट बनाउन तयार भएका हुन् । साइट बनाउँदा चराचुरुङ्गी तथा जीव जनावरलाई असर नगर्ने, चोरी पैठारी र सम्भावित आगलागिलाई रोक्ने योजना बनाएर सञ्चालन गर्नुपर्नेमा सबैको जोड छ ।  वनका पूर्वअध्यक्ष र हालका केही पदाधिकारीले वनमा फोहर मैला व्यवस्थापन केन्द्र नहुने धारणा राख्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *