बिष्णु खरेल, जनहित अनलाइन । रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तु र फेमिली डेन्टल केयर सेन्टर प्रा.लि., बाणगङ्गा–४ चारनम्बर कपिलवस्तुको संयुक्त आयोजनामा चिल्ड्रेन प्याराडाइज इङ्लिस बोर्डिङ स्कुल, बाणगङ्गा–८ बोडगाउँमा शनिबार निःशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न भएको छ । समुदायमा दन्त स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने तथा विद्यार्थी र अभिभावकलाई समयमै दन्त समस्याको पहिचान गरी उपचारमा पहुँच पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । विद्यालय परिसरमै सञ्चालन गरिएको उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, बुद्धिजिवि लगाएतको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूलाई दाँत तथा मुखको स्वास्थ्य परीक्षण, दन्त रोगसम्बन्धी परामर्श, मुखको सरसफाइका सही विधिबारे जानकारी तथा दन्त उपचारसमेत प्रदान गरिएको फेमिली डेन्टल केयर सेन्टरका सञ्चालक कृष्ण पोख्रेलले जनहित अनलाइन सङ्ग जानकारी दिनुभयो । उहाँका अनुसार नियमित दन्त परीक्षणले भविष्यमा हुने जटिल दन्त समस्यालाई समयमै नियन्त्रण गर्न मद्दत गर्ने भएकाले वर्षमा कम्तीमा दुई पटक दन्त परीक्षण गराउनु उपयुक्त हुने बताउनुभयो ।
विद्यालयका शिक्षक तथा अभिभावकहरूले विद्यालयमै विशेषज्ञ चिकित्सकबाट निःशुल्क दन्त सेवा उपलब्ध गराइनु अत्यन्तै सकारात्मक र प्रभावकारी पहल भएको बताएका छन । यस्ता कार्यक्रमले बालबालिकामा सानैदेखि दन्त स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै अभिभावकलाई पनि मुख स्वास्थ्यको महत्वबारे जानकारी प्राप्त भएको उनीहरूको भनाइ थियो ।
रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुका अध्यक्ष कृष्ण भट्टराईले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा सामाजिक सेवा गर्दै आएको क्लबले आगामी दिनमा पनि यस्ता जनहितका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो। उहाँले स्थानीय संघसंस्था तथा स्वास्थ्य संस्थासँग सहकार्य गर्दै समुदायमा प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

