नेपालगञ्ज। नेपालगञ्ज स्थित भेरी अस्पतालको मेडिकल स्टोरमा शनिबार बिहान आगलागी हुँदा कराडौंको क्षति भएको छ । मेडिकल स्टोरभित्र राखिएको फ्रिजमा सर्ट सर्किट भइ आगलागी भएको अस्पतालले जनाएको छ । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। निराजन सुवेदीले अस्पतालको मे ।डिकल स्टोरमा आगलागी हुँदा करिब तीन करोडभन्दा बढीको बहुमूल्य औषधी लगायत जलेर नष्ट भएको जानकारी दिए।
अस्पतालमा प्रयोग हुने सबै प्रकारका औषधीसँगै उपकरण र प्रयोगशालामा प्रयोग हुने महँगो मूल्य पर्ने भ्याक्सिन लगायत सबै जलेर नष्ट भएकाले तीन करोडभन्दा बढी क्षति भएको हुनसक्ने अनुमान गरिएको बताए । आगलागीबाट केही कोठाका फर्निचर र कागजपत्रहरु समेत जलेर नष्ट भएका छन् । सुपरिटेन्डेन्ट डा।सुवेदीले भने, ‘क्षतिको विवरण सङ्कलन भइरहेको छ, आइतबारसम्म मात्रै क्षतिको यकिन विवरण उपलब्ध गराउन सकिन्छ ।’
शनिबार भएकाले मेडिकल स्टोरभित्र कर्मचारी र बाहिर बिरामी तथा अन्य मानिसहरु नरहेकाले मानवीय क्षति हुन नपाए पनि भौतिक क्षति भने ठुलो परिमाणमा भएको सुपरिटेन्डेन्ट डा।सुवेदीले बताए । मेडिकल स्टोरमा आगलागी भएलगत्तै तत्काल दमकल र प्रहरीलाई खबर गरिएको र अस्पतालका कर्मचारी तथा सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिन सकिएको सुपरिटेन्डेन्ट डा।सुवेदीले बताए । आगलागीबाट मेडिकल स्टोरमा रहेका अधिकांश औषधी जलेर नष्ट भएका छन् । आगलागीका कारण सर्ट सर्किट बताइए पनि सो बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


