कपिलवस्तुमा सडक दुर्घटनाः चार दिन, तीन ठाउँ, छ शव

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । चार दिन, तीन ठाउँ, छ शव — कपिलवस्तुको सडकमा यो अब दुर्घटना होइन, दैनिकी बनिसकेको छ । साउन ९ गते राति । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६, बिमिहा चोकमा भैरहवातर्फ गुड्दै गरेको बस अचानक विपरीत दिशाबाट आएको मोटरसाइकलसँग ठोक्किन्छ । ३० वर्षका रामबहादुर चाइ र २८ वर्षका सर्जु चाइको क्षणभरमै दुखद निधन हुन्छ । तीन दिन बित्दा नबित्दै महाराजगञ्जको गैडहवामा ट्रकले सडकछेउ उभिएका १२ वर्षका आनन्द कश्यपसहित ७५ वर्षीय भोल्लर कुर्मी र ४५ वर्षीय विजयकुमार गुप्तालाई कुल्चिन्छ । उसै रात, शिवराजको दक्षिण रहटकोलमा टिप्परको ठक्कर बाट पहिचान नखुलेका ४५ वर्षिय एक पुरुषको मृत्यु हुन्छ ।

अनौठो कुरा भने अर्कै छ । जिल्ला ट्राफिक प्रहरीका अनुसार यी दुर्घटना जहाँ भइरहेका छन्, त्यो सडकखण्ड — तौलिहवा–बहादुरगञ्जको २७ किलोमिटर — मा हालसालै दुर्घटना रोक्नकै लागि भनेर पक्की डिभाइडर जडान गरिएका थिए । तर प्रहरीकै अनुसन्धानले भन्छ, ती डिभाइडर नै गलत स्थानमा बनाइएकाले उल्टै जोखिम बढिरहेको छ । जुन संरचना जोगाउनकै लागि थियो, त्यही अहिले मृत्युको कारण बनिरहेको छ ।

यो विरोधाभास यहीँ सीमित छैन । जिल्ला ट्राफिक कार्यालयका अनुसार चालु आर्थिक वर्षको सुरुवाती १३ दिनमा मात्रै जिल्लाभर ३० वटा सवारी दुर्घटना भइसकेका छन । औसतमा दिनको सवा दुई दुर्घटना — जसमा ६ जनाको मृत्यु र ३० जना घाइते भएका छन् । गत आर्थिक वर्ष २०८२/८३ मा त झन् यसको अवस्था भयावह थियो । ६८५ दुर्घटनाह हुँदा ७७ जनको दुखद निधन भएको थियो भने १ हजार २११ घाइते भएका थिए । यसको सोझो अर्थ हो, कपिलवस्तुमा हरेक पाँच दिनमा सडक दुर्घटनाले एक जनाको ज्यान लिएको छ ।

अझ अनौठो कुरा त यो हो कि यही अवधिमा जिल्ला ट्राफिक कार्यालयले विद्यार्थी, चालक, व्यवसायी र सर्वसाधारणलाई लक्षित गरी १ हजार ३३५ वटा सचेतनामूलक कार्यक्रम चलायो । यति धेरै प्रयासका बाबजुद दुर्घटनाको ग्राफ किन घट्न सकेन एउटा गम्भिर प्रश्न चिन्ह खडा भएको छ । यही प्रश्नले जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन ढकाल आफैं अलमलिएका छन् । “हामीले दुर्घटना न्यूनीकरणका लागि दिनहुँजसो कार्यक्रम सञ्चालन गरिरहेका छौँ, तर त्यसले अपेक्षित परिणाम दिन सकेन,” उनी भन्छन्।

निरीक्षक ढकाल दुर्घटनाको प्रमुख कारण चालक–यात्रुको लापरबाही, सडकको जीर्ण अवस्था, सडक पेटी अतिक्रमण र छाडा चौपायालाई देख्छन् भने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले भने बढ्दो सवारी चाप, कमजोर पूर्वाधार, लाइसेन्सबिना सवारी चलाउने प्रवृत्ति, सहचालकलाई गाडी चलाउन दिने बानी र मादक पदार्थ सेवन गरी सवारी चलाउने कारण नै प्रमुख दुर्घटनाको जड रहेको भन्छन ।

तर समाधान गर्न नसक्ने भने हैन । पाल्पाको सिद्धबाबा क्षेत्रमा विगत सात वर्षमा दुर्घटना उल्लेख्य रूपमा घटेको छ — त्यहाँका प्रहरी अधिकारीहरूका अनुसार चालकमा निरन्तर सचेतना, नियम पालनामा कडाइ र ठूलो वर्षाका बेला सवारी नै रोक्ने अभ्यासले यो सम्भव भएको हो । ठ्याक्कै त्यही सूत्र हो, जुन कपिलवस्तुमा वर्षौंदेखि दोहोर्‍याइँदै आए पनि प्रभावकारी हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *