अनिता क्षेत्री,जनहित अनलाईन कपिलवस्तु । लुम्बिनी प्रदेश स्तरीय प्रथम ‘लुम्बिनी लोकतारा’ प्रतियोगिता कपिलवस्तुमा आयोजना हुने भएको छ ।
“हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नव प्रतिभाको प्रोत्साहन” भन्ने मूल नारासहित कार्यक्रम आयोजना गर्न लागिएको हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशको आयोजना तथा कपिलवस्तु जिल्लाको सह–आयोजनामा सञ्चालन हुने प्रतियोगितामा लुम्बिनी प्रदेशभित्र रहेका एकल लोक गायन प्रतिभाको मूल्यांकन गरिने जनाइएको छ ।
प्रतिष्ठानका लुम्बिनी प्रदेश अध्यक्ष दामोदर बस्यालले प्रदेशभर लुकेर रहेका लोक प्रतिभाको खोजी तथा प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “लोक संस्कृति हाम्रो पहिचान हो । पछिल्लो समय लोक कला र मौलिक गीतसंगीतलाई संरक्षण गर्नुपर्ने आवश्यकता बढ्दै गएको छ । यही उद्देश्यसहित नयाँ प्रतिभाको खोजी गर्न प्रतियोगिता आयोजना गरेका हौं ।” प्रतियोगितामा लुम्बिनी प्रदेशका प्रत्येक जिल्लाबाट अडिसनमार्फत प्रथम स्थान हासिल गर्ने प्रतियोगी सहभागी हुनेछन् ।
कार्यक्रम संयोजक उज्ज्वल गिरिका अनुसार विश्व संगीत दिवस २०२६ को अवसर पारेर आयोजना गरिएको प्रतियोगिताका लागि जेठ ३० गतेभित्र सहभागीहरूको नाम दर्ता गरिसक्नुपर्नेछ । उहाँले भन्नुभयो, “प्रदेशभरका प्रतिभावान गायक–गायिकालाई एउटै मञ्चमा ल्याउने प्रयास गरेका छौं । यसले नयाँ कलाकारलाई अवसर दिनुका साथै लोक संस्कृतिप्रति युवाको आकर्षण बढाउने विश्वास लिएका छौं ।”
प्रतियोगितामा प्रथम हुने प्रतियोगीले नगद रु.५२ हजार २ सय २२, दोस्रो हुनेले रु। ३२ हजार २ सय २२ तथा तेस्रो हुनेले रु। २२ हजार २ सय २२ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने सचिव योगराज पोख्रलले बताउनुभएको छ । आयोजकका अनुसार प्रतियोगिता मार्फत लुम्बिनी प्रदेशको मौलिक लोक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

