कपिलवस्तु । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु क्षेत्र नं. १ मा चुनावी माहोल व्यापक बन्दै गएको छ। सोही क्रममा स्वतन्त्र उम्मेदवार आशिष शर्माले आज वाणगंगा नगरपालिकाको वडा नं ६ मा सञ्चालन गरेको घरदैलो अभियानले चुनावी समीकरण नै बदलिँदै गएको संकेत दिएको छ।
घर–घरमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका शर्माले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र पूर्वाधारसँग जोडिएका स्थानीय समस्या ध्यानपूर्वक सुने। यसक्रममा मतदाताले वर्षौंदेखि दलगत राजनीति र पुरानो नेतृत्वबाट अपेक्षित परिवर्तन नआएको गुनासो गर्दै “अब दल होइन, योग्य युवा” रोज्नुपर्ने स्पष्ट सन्देश दिएका छन्।
वडा नं। ६ का मतदाताले सक्षम, इमानदार र युवापुस्ताको प्रतिनिधित्व गर्ने उम्मेदवारका रूपमा आशिष शर्मालाई दलगत सीमाभन्दा माथि उठेर विजयी गराउनुपर्ने धारणा खुलेर व्यक्त गरेका छन्। स्थानीयको भनाइमा, शर्मामा न घमण्ड छ, न स्वार्थ—उनीसँग छ केवल कपिलवस्तुलाई राष्ट्रिय स्तरमा चिनाउने स्पष्ट लक्ष्य र काम गर्ने अठोट।
स्वतन्त्र उम्मेदवारीसहित चुनावी मैदानमा उत्रिएका शर्मा हाल जिल्लाको राजनीतिमा सशक्त, भरोसायोग्य र परिणाममुखी विकल्पका रूपमा उदाउँदै गएका छन्। दलका उम्मेदवारसँग तुलना गर्ने अवस्था नै नरहेको भन्दै धेरै मतदाताले यसपटक स्वतन्त्र उम्मेदवारको पक्षमा माहोल बनेको बताएका छन्। विशेषगरी युवा, महिला र अनुभवी मतदातासमेत शर्माप्रति आकर्षित देखिन्छन्।
चुनाव चिन्ह ‘जिप’ लिएर मैदानमा होमिएका शर्मा अनुभवी नेतृत्व र नयाँ सोचको संयोजनका रूपमा लोकप्रिय बन्दै गएका छन्। पुरानो राजनीतिक शैलीप्रति निराश मतदाताले उनलाई आशा र परिवर्तनको प्रतीकका रूपमा हेर्न थालेका छन्।

