जनहित अनलाइन, कपिलवस्तु । पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि कपिलवस्तुमा बृहत् साइकल यात्रा कार्यक्रम हुने भएको छ ।बाणगंगा राइडर्स क्लव कपिलवस्तुले यही कात्तिक २९ गते प्रथम बाणगंगा साइकल यात्रा गर्न लागेको शनिबार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
“स्वस्थ जीवन, स्वच्छ पर्यावरण र पर्यटन प्रवर्द्धन” भन्ने मूल नाराका साथ बाणगंगा राईडर्स क्लब कपिलवस्तुले पहिलो बाणगंगा साइकल यात्रा–२०८२ आयोजना गर्ने तयारी भइरहेको र यसमा सबैको सहयोग आवश्यक रहेको जनाएको छ ।
क्लबले आगामी कार्तिक २९ गते शनिबारका दिन बाणगंगामा विशेष साइकल यात्रा सञ्चालन हुने र यो यात्रामा विश्व साइकल यात्री पुष्कर शाहसहित करिब ४ सय साइकलयात्रीहरु सहभागी हुने आयोजक संस्थाका टिकाराम पौडेलले जानकारी दिए ।
२०८० सालमा स्थापना भएको क्लबले स्थानीय स्तरमा साइकल संस्कृतिको प्रवर्द्धन गर्दै स्वास्थ्य, वातावरण र पर्यटनका पक्षमा जनचेतना फैलाउँदै आएको छ। क्लबका अध्यक्ष विष्णु प्रसाद सापकोटाका अनुसार हाल देशमा वायु प्रदूषण र ऊर्जा सङ्कट बढ्दै गएको सन्दर्भमा साइकल प्रयोगलाई प्रोत्साहन दिँदै स्वस्थ र वातावरणमैत्री जीवनशैली अङ्गाल्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको बताए ।


