कपिलवस्तु । “रगतदान जीवनदान हो” भन्ने नारासहित हाम्रो दिगो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६ औँ स्थापना दिवस विशेष तरिकाले मनाएको छ । सहकारीले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा जम्मा ४३ पोइन्ट रगत संकलन भएको संस्थाका अध्यक्ष सुरेन्द्र पाण्डे जानकारी दिनुभयो ।
अध्यक्ष पाण्डेले सहकारी स्थापना दिवसलाई केवल उत्सवको रूपमा नभई समाजलाई योगदान दिने अवसरका रूपमा मनाइने परम्परा स्थापित भएको बताउनुभयो । “१६ वर्षको यात्रामा हामीले आर्थिक क्षेत्रसँगै सामाजिक उत्तरदायित्वमा पनि योगदान पुर्याउने कोसिस गर्दै आएका छौँ । रक्तदान जस्तो जीवनरक्षक कार्यमार्फत सहकारी र समुदायबीचको सम्बन्ध अझ प्रगाढ भएको छ,” उहाँले भन्नुभयो ।
स्थापना दिवसमा अध्यक्ष पाण्डेले सहकारीले आगामी दिनमा शिक्षा, स्वास्थ्य र सिपमूलक तालिममार्फत सदस्यहरूलाई दिगो बनाउने योजना अघि सारेको पनि जानकारी दिनुभयो ।
कार्यक्रमलाई प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी सिद्धिपुर शाखाले गरेको थियो ।
शाखाका सभापति शंकर पाण्डेले सहकारीले समाजिक सेवा र सहयोगी भावना बढाउन गरेको पहल सराहनीय रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार निरन्तर रगत आपूर्ति आवश्यक पर्ने अस्पताल र स्वास्थ्य संस्थाका लागि यस्तो योगदान अमूल्य हुन्छ ।
कार्यक्रमका सहभागीहरूले हालैको जेनजी आन्दोलनमा ज्यान गुमाउने शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै लोकतान्त्रिक आन्दोलनमा बलिदानी दिने युवापुस्ताप्रति उच्च सम्मान प्रकट गरेका थिए ।
कार्यक्रममा सहभागी एक युवा रक्तदाताले भने, “आफ्नो सानो योगदानले अरूको जीवन बच्न सक्छ भन्ने सोचेर आएको हुँ । स्थापना दिवसमा मात्र नभई यस्तो रक्तदान अभियान नियमित रूपमा हुनु जरुरी छ ।”
सो अवसरमा नेपाल रेडक्रस सोसाइटी सिद्धिपुर शाखाका सभापति शंकर पाण्डे तथा अन्य समाजसेवीहरूको उपस्थिति थियो ।


