अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन।
पाल्पा–अर्घाखाँची सिमाना नजिक पाणिनि गाउँपालिका क्षेत्रमा पर्ने ढुङ्ग्रेखोला सडकखण्डमा लगातारको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो। गत असार २८ गते सडकमाथिबाट ठूलो ढुङ्गा खसेपछि सडक पूर्ण रूपमा बन्द भएको थियो। खसेको ढुङ्गा अत्यन्त ठूलो भएकाले तत्काल हटाउन नसकिएपछि सडक लामो समयदेखि अवरुद्ध रहँदै आएको छ।
सडक खुलाउने प्रयासस्वरूप पहिरो हटाउने काम तीव्र पारिएको थियो। साउन ३ गतेदेखि कम्तीमा एकतर्फी रूपमा सडक सञ्चालन गर्ने तयारी भइरहेका बेला साउन २ गते राति र ३ गते बिहान पुनः ठूलो पहिरो खस्दा सडक फेरि पूर्ण रूपमा बन्द भएको पाणिनि गाउँपालिका–२ का वडा अध्यक्ष चन्द्रकान्त पौडेलले जानकारी दिए।
उनका अनुसार यसपटक पहाड नै भासिएर सडक पुरिएकाले पहिरो हटाउने काम थप जटिल बनेको छ। “यो ढुङ्ग्रेखोलामा गएको पहिरो हटाउन निकै समस्या पर्यो। हिजो एकतर्फी बाटो सञ्चालन गर्ने काम अन्तिम चरणमा पुगेको थियो, तर आज फेरि पहाडै खसेर झन् ठूलो समस्या सिर्जना भयो।” वडा अध्यक्ष पौडेलले भने, “अब जिल्लाबाट विशेष प्राविधिक टोली नै आउनुपर्ने अवस्था देखियो।”
वडा अध्यक्ष पौडेलले पानी परिरहेको र पहिरो अझै सक्रिय रहेकाले सडक क्षेत्रमा यात्रा गर्न अत्यन्त जोखिमपूर्ण भएको बताए। उनले सवारीसाधन मात्र नभई पैदल यात्रुलाई समेत उक्त सडक प्रयोग नगर्न प्रशासनले रोक लगाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
यात्रु तथा सवारी चालकलाई जोखिम नलिन, प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न तथा अर्को सूचना जारी नभएसम्म बैकल्पिक मार्ग प्रयोग गर्न वडा अध्यक्ष पौडेलले अनुरोध गरेका छन ।


