जनहित अनलाइन, कपिलवस्तु । सल्यान जिल्लाको सारदा नगरपालिका वडा न.१ श्रीनगरमा चलिरहेको दोस्रो बृहत सल्यान महोत्सवमा आग्लागी हुँदा करोडौंको क्षती भएको छ ।
यहि माघ १८ गते शुरुवात भई फाल्गुन ४ गते सम्म सञ्चालन हुने भनिएको महोत्सवमा निरन्तर दिनहु चर्चित राष्टिय कलाकारको साथमा स्थानीय कलाकारहरुको प्रस्तुतीले महोत्सवको माहोल रमाइलो बन्दै गइरेहेको थियो । आठौं दिनमा चर्चित गायिका शान्तारानी परियारको प्रस्तुुतीसंगै दर्शकहरु झुमिरहेका थिए । सांस्कृतिक कार्यक्रम सकेर सब घर फर्किसकेका थिए ।
अकस्मात राति ११ बजेतिर महोत्सवका स्टलमा आगो देखिएको थियो । आगो स्थानीय, व्यवसायी, महोत्सव सञ्चालक तथा सुरक्षाकर्मीको टोलीले तीन घण्टा लगाएर नियन्त्रणमा लिएको थियो। लागेको आगलागी हुँदा स्टलमा रहेका अधिकांस समान जलेर नष्ट भएका छन् ।
महोत्सव सञ्चालन भएको आठौं दिनको रातको समयमा आगलागी हुँदा ७० प्रतिशत भन्दा बढी स्टल जलेर नष्ट भएका छन् । महोत्वसमा के कति मात्रामा स्टल थिए र के कति मूल्य बराबरको क्षति भयो भन्ने विषयमा क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
महोत्सवमा राखिएका स्टल र भएका क्षति तथा आगलागीको घटनाका विषयमा अनुसन्धान साथसाथै अघि बढाएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनु भयो । आगलागीका कारण महोत्सव पनि पूर्ण रूपमा प्रभावित भएको छ ।
स्टलमा सामान्य एक व्यक्तिको १० लाखदेखि ६० लाखसम्मको सामान जलेर नष्ट भएको व्यापारीहरुको भनाई छ । आगलागीबाट १२ करोड बढीको क्षति भएको अनुमान गरिएको उनीहरुको भनाई छ ।


