सर्पदंश उपचार केन्द्र गोरुसिंगेमा कपिलवस्तुवासीको औषधी उपचार अब निःशुल्क

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बुद्धभूमि । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेमा अवस्थित कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा अब जिल्लावासीको औषधी उपचार निशुल्क रुपमा हुने भएको छ ।

बुद्धभूमि नगरपालिका नगरप्रमुख केशवकुमार श्रेष्ठको विशेष पहलमा जिल्ला १० वटै पालिकाहरुले औषधी उपचार गर्दा आफ्ना पालिकावासीको उपचार खर्च भुक्तानी गर्ने व्यवस्था मिलाईएको कपिलवस्तु सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नविन भण्डारीले जानकारी दिए ।

नगरप्रमुख केशवकुमार श्रेष्ठले सर्पले डस्ने व्यक्तिहरु अधिकांश आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरु रहने भएकाले उनीहरुलाई थप आर्थिक भार नहोस् भन्ने उद्देश्य अनुसार पालिका प्रमुखहरुसंग समन्वय गरि यस्तो व्यवस्था मिलाईएको बताए ।

उनले कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा उपचारका लागि आए मात्र सम्बन्धित व्यक्ति बसोबास गर्ने पालिकाले उपचार बापतको रकम भुक्तानी स्पष्ट पारे । उनका अनुसार उपचार केन्द्रमा आउने बिरामीहरुले ८ देखि १५ हजार सम्मको औषधी खरिद गर्नुपर्ने छ । उनले अहिले गर्मी याम सुरु भएसँगै सर्पदंशका बिरामी आउनेको संख्या बढ्ने गरेको बताए ।

 

केन्द्रले गर्मीयाममा सर्पदंशका बिरामी बढ्ने भएकाले बिरामी कम गर्न गाउँगाउँमा सचेतनामूलक कार्यक्रम समेत गर्दै आएको बताए ।

उनले यस सर्पदंश उपचार केन्द्रलाई थप व्यवस्थित र विश्वस्नीय बनाउने योजना अनुरुप विभिन्न सरोकारवाला निकायहरुसंग आगामी दिनमा पनि थप हातेमालो गर्दै अघि बढ्ने बताए । गोरुसिंगे ब्यारेक प्रमुख विदुरध्वज अधिकारीले आमनागरिकलाई निशुल्क र छिटोछरितो रुपमा उपचार सेवा दिन उपचार केन्द्र प्रतिवद्ध रहेको बताए ।

उनले नेपाली सेनाले आवश्यकता अनुसार निशुल्क रुपमा प्राविधिकहरु उपलब्ध गराउँदै आएको बताए ।

यस उपचार केन्द्रमा लुम्बिनी प्रदेशका जिल्लाबाट मात्र नभई छिमेकी देश भारतका विभिन्न स्थानबाट समेत उपचारका लागि सेवाग्राही आउने गरेका छन् ।

नेपाली सेनाको शमशेरदल गणको प्राविधिक र बुद्धभूमि नगरपालिकाको आर्थिक सहयोगमा यस उपचार केन्द्र सञ्चालन हुदैं आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *