भैरहवा । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने भएका छन् । केन्द्रमा विकसित राजनीतिक घटनाक्रमपछि सरकारबाट बाहिरिने विषय उठे पनि प्रदेश संसदीय दलले थप परामर्शपछि मात्रै ठोस निर्णय गर्ने जनाएको छ ।
कांग्रेस संसदीय दलले सरकारमा सहभागी मन्त्री, प्रमुख सचेतक र सचेतकसँग संयुक्त छलफल गरेर मात्र औपचारिक निर्णय गर्ने तयारी गरेको छ । प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले बिहीबार सरकारमा सहभागी मन्त्री, प्रमुख सचेतक र सचेतकको बैठक बोलाउनुभएको थियो तर केही मन्त्री काठमाडौँमा र केही गृहजिल्लामा रहेकाले बैठक पूर्ण हुन नसकेको जनाइएको छ । प्रमुख सचेतक जमुना ढकालले सबै मन्त्रीसँग एकै पटक छलफल गरेर मात्रै सरकारमा रहने वा नरहने विषयमा निर्णय गरिने बताउनुभयो । उहाँका अनुसार सरकारमा रहेका पाँचैँ जना मन्त्री उपस्थित हुन नसकेकाले छलफल निष्कर्षमा पुग्न सकेन ।
कांग्रेसबाट सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले लुम्बिनीमा तत्काल सत्ता समीकरण परिवर्तन गर्ने पक्षमा आफूहरू नरहेको बताउनुभयो । उहाँका अनुसार प्रदेशमा कांग्रेस–एमालेबिचको सहकार्यमा कुनै ठुलो विवाद नरहेकाले केन्द्रको राजनीतिक समीकरणका आधारमा मात्रै सरकार परिवर्तन गर्नु उपयुक्त नहुने धारणा अधिकांश मन्त्रीको छ । उहाँले पूर्वसहमति कार्यान्वयन गर्दै आवश्यक परे सरकारको नेतृत्व परिवर्तनबारे छलफल हुन सक्ने भए पनि गठबन्धन नै परिवर्तन गर्ने विषय व्यावहारिक नदेखिएको बताउनुभयो । यसअघि नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीको निर्णय अनुसार मन्त्रीले राजीनामा दिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइने बताउनुभएको थियो । केन्द्रमा नेपाली कांग्रेसले नेकपा (एमाले) सँगको सत्ता सहकार्य अन्त्य गर्ने निष्कर्ष निकालेपछि त्यसको प्रभाव प्रदेश सरकारमा पनि पर्ने चर्चा भइरहेका बेला लुम्बिनीमा भने तत्काल सत्ता समीकरण परिवर्तन हुने सम्भावना न्यून देखिएको छ ।
लुम्बिनी प्रदेश सभामा ८३ सदस्य छन् । एमालेका २९, कांग्रेसका २७ र नेकपाका १३ प्रदेश सभा सदस्य छन् । कांग्रेस र नेकपा मिल्दा ४० सदस्य सङ्ख्या पुग्ने भएकाले सरकार गठनका लागि आवश्यक ४२ मत जुटाउन अन्य दलको समर्थन अपरिहार्य रहने अवस्था छ । हाल लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविव्रmम न्यौपाने, सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना र वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवार सहभागी हुनुहुन्छ ।
एमाले लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक यमुना रोका तामाङले प्रदेश सरकारको वर्तमान सत्ता समीकरण तत्काल परिवर्तन हुने अवस्था नरहेको बताउनुभयो । उहाँले केन्द्रको राजनीतिक परिस्थिति केही दिनमै स्पष्ट हुने र त्यसपछि आवश्यक राजनीतिक निर्णय अघि बढ्ने बताउनुभयो ।


