भारतको रक्सौलबाट आठजना नेपाली किशोरको उद्धार

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पर्सा । पर्साको वीरगञ्ज नाकासँग जोडिएको भारतको रक्सौलबाट आठजना किशोरको उद्धार गरिएको छ ।

रक्सौलबाट मधेस प्रदेशका विभिन्न जिल्लाका आठजना किशोरको उद्धार गरी उनीहरूलाई आफन्तको जिम्मा लगाइएको हो । राम्रो तलबको प्रलोभन देखाई उनीहरूलाई एक नक्कली नेटवर्किङ कम्पनीमार्फत वन्धक बनाई तालिम दिइँदै गरेको अवस्थामा फेला पारिएको थियो

भारतीय प्रहरीले गत मार्च २९ मा उक्त स्थानमा छापा मार्दा आठजना किशोरसहित ५६८ जना व्यक्ति पक्राउ परेका थिए । उद्धार गरिएका किशोरहरूलाई रक्सौलस्थित दुईवटा निजी अपार्टमेन्टमा राखिएको थियो । वीनमेकर नामक नक्कली कम्पनीको नाममा उनीहरूलाई नेटवर्किङ व्यवसायको तालिम दिइँदै थियो।

प्रारम्भिक अनुसन्धानबाट ती किशोरहरू सबै १८ वर्षभन्दा कम उमेरका रहेका र प्रलोभनमा परी भारत पुगेको पुष्टि भएको हो । पक्राउ परेपछि उनीहरूलाई दिल्लीस्थित एक सुधार गृहमा राखिएको थियो । उनीहरूलाई किन इन्डिया संस्थाका प्रतिनिधि नवीन जोशी र राष्ट्रिय बाल अधिकार परिषद्, मधेस प्रदेशका प्रदेश समन्वय अधिकृत सञ्जीव महतोको सक्रियतामा उद्धार गरिएको हो । बिहीबार ती किशोरहरूलाई सुरक्षित रूपमा नेपाल फर्काई परिवारजनको जिम्मा लगाइएको छ । उनीहरूलाई झुटो आश्वासन दिएर योजनाबद्ध तरिकाले राखिएको किन इण्डियाका प्रतिनिधि जोशी बताउनु भयो ।

उहाँले भन्नुभयो, “उनीहरूलाई झुटो आश्वासन दिएर यो कम्पनीमा यसरी अगाडि बढ्नुपर्छ, उनीहरूलाई धेरै कमाउनुपर्छ भनेर लालच देखाइएको थियो । दारी आउनुभन्दा गाडी आउनुपर्छ तिमीहरूसँग, मैले यसरी तीन करोड कमाएको छु, तिमीहरूले पनि तीन करोड कमाउनुपर्छ लगायतका प्रलोभनमा राखी योजना अनुसार उनीहरूलाई राखिएको थियो । परिवारलाई पनि थाहा दिइएको थिएन । परिवारसँग कुरा हुँदा त्यहाँ कुनै व्यक्तिले निगरानी गरिरहेको थियो ।”

कम्पनीका कर्मचारीहरूले चिनजानका साथीभाइलाई समेत राम्रो आम्दानी हुने भन्दै बोलाई त्यहाँ पुर्‍याउने कार्य गरिरहेको पाइएको छ । जोशीकाअनुसार उक्त कार्यमा संलग्न गिरोहविरुद्ध थप अनुसन्धान र कानूनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *