कपिलवस्तु । बाणगंगा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा आन्तरिक राजस्व संकलनमा उल्लेखनीय सफलता हासिल गरेको छ । नगरपालिकाले निर्धारण गरिएको लक्ष्यभन्दा झण्डै दोब्बर राजस्व संकलन गर्दै वित्तीय व्यवस्थापनमा सकारात्मक उपलब्धि हासिल गरेको हो ।
नगरपालिकाका राजस्व शाखा प्रमुख मदनप्रसाद घिमिरेका अनुसार आर्थिक वर्ष २०८२ साउन १ गतेदेखि २०८३ असार मसान्तसम्म नगरपालिकाले १७ करोड ८७ लाख ७९ हजार २३२ रुपैयाँ आन्तरिक आय संकलन गरेको छ । यो रकम निर्धारित लक्ष्यभन्दा उल्लेख्य रूपमा बढी रहेको उनले जानकारी दिए ।
घिमिरेका अनुसार लक्ष्यभन्दा बढी राजस्व संकलन हुनुमा कर प्रशासनमा गरिएको सुधार, करदाताको बढ्दो सहभागिता, नदीजन्य पदार्थको उपलब्धता तथा नियमित अनुगमन प्रमुख कारण हुन् ।
आर्थिक वर्षको अन्तिम विवरणअनुसार नगरपालिकाको केन्द्रीय कार्यालयबाट मात्रै १४ करोड ५६ लाख ८५ हजार ६९४ रुपैयाँ राजस्व संकलन भएको छ । यसमध्ये दहत्तर–बहत्तर (नदीजन्य पदार्थ) को ठेक्काबाट मात्रै झण्डै १० करोड रुपैयाँ आम्दानी भएको छ, जसले कुल आन्तरिक आयमा ठूलो योगदान दिएको छ ।
वडागत विवरणअनुसार अधिकांश वडाले आफ्नो वार्षिक लक्ष्य पूरा गर्दै लक्ष्यभन्दा बढी राजस्व संकलन गरेका छन् । वडा नं. ८ सबैभन्दा बढी ६५ लाख ९६ हजार ६३१ रुपैयाँ राजस्व संकलन गर्दै पहिलो स्थानमा रहेको छ । त्यसपछि वडा न. ४ ले ५० लाख ३३ हजार २६५ रुपैयाँ र वडा नं. ११ ले ४७ लाख ७० हजार ४७९ रुपैयाँ राजस्व संकलन गरेका छन् । सबैभन्दा कम राजस्व वडा नं. ६ बाट २५ लाख ४६ हजार ६०२ रुपैयाँ संकलन भएको छ ।
नगरपालिकाले सम्पत्ति कर, भूमिकर, मालपोत, बहाल कर, व्यवसाय कर, सिफारिस दस्तुर, सेवा शुल्क, नक्सापास दस्तुर, बेरुजु, मनोरञ्जन कर, विज्ञापन कर, सरकारी सम्पत्तिबाट प्राप्त आम्दानी तथा अन्य प्रशासनिक सेवाबाट राजस्व संकलन गरेको जनाएको छ ।
नगरपालिकाले बैंकमार्फत प्राप्त राजस्व, नगद संकलन तथा प्रत्यक्ष बैंक जम्मा भएका रकमलाई समेत समेटेर एकीकृत वित्तीय विवरण तयार गरेको छ । यसले राजस्व व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र विश्वसनीय बनाएको नगरपालिकाका लेखा प्रमुख केशव गैरेले बताए ।
प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले आन्तरिक आयमा भएको वृद्धि आगामी वर्ष विकास निर्माण, आधारभूत सेवा विस्तार तथा स्थानीय स्रोतको दिगो परिचालनमा महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरे । आगामी आर्थिक वर्षमा करको दायरा विस्तार, कर प्रशासनलाई प्रविधिमैत्री बनाउने तथा करदातामैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखिने उनले बताए ।
नगर प्रमुख चक्रपाणि अर्यालले राजस्व संकलनमा नगरवासीको उत्साहजनक सहभागिताप्रति धन्यवाद व्यक्त गर्दै स्थानीय स्रोतको दिगो परिचालनका लागि सबैले आ आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक योगदान गर्नुपर्नेमा जोड दिए । उनले राजस्व वृद्धि नै स्थानीय विकास र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रमुख आधार भएको उल्लेख गरे ।

