रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर हरेक क्षेत्रमा अघि बढ्न तयार रहेको स्पष्ट पारेका छन् ।
नेपाल इञ्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेशले ६३ औं इञ्जिनियर्स दिवसको अवसरमा शुक्रबार बुटवलमा आयोजना गरेको ‘लुम्बिनी प्रदेशको आत्मनिर्भर पूर्वाधार विकास स् अवसर र चुनौती’ विषयक कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले पूर्वाधार विकासमा पब्लिक–प्राइभेट पार्टनरशिप मोडेलमा जान सकिने कानुनी आधारहरू तय भइसकेको बताएका हुन् ।
उनले भने, ‘लुम्बिनी प्रदेश सरकारले पूर्वाधार प्राधिकरण ऐन बनाएको छ, जसमा स्पष्ट रूपमा निजी क्षेत्रसँग सहकार्य गर्ने आधार राखिएको छ । प्रदेश सरकार निजी क्षेत्रको प्रचुर विकासमा सहजीकरणको वातावरण निर्माण गर्न प्रतिबद्ध छ । दोस्रो आवधिक योजनाका लक्ष्यहरू हासिल गर्न निजी क्षेत्रसँग सहकार्य अनिवार्य छ ।’
मुख्यमन्त्री आचार्यका अनुसार प्रदेश सरकारको लगानी सन्तुलित रूपमा अघि बढिरहेको छ । उनले चालू खर्च घटाउन प्रदेश सरकार अग्रस्थानमा रहेको उल्लेख गर्दै भने, ‘हामी चालू खर्च घटाउनेमा पहिलो नम्बरमा छौं, र त्यो प्रमाणित गरिसकेका छौं । राजस्व वृद्धिका क्षेत्रमा समेत प्रदेश सरकार सफल भएको छ । डेढ अर्ब रुपैयाँ राजस्व वृद्धि सम्भव भएको छ, जसको श्रेय हामीले थालेको सुशासनको अभियानलाइ जान्छ ।’
मुख्यमन्त्री आचार्यले स्थायी इञ्जिनियर जनशक्ति तयार पार्ने योजनाका साथ प्रदेश सरकार अघि बढिरहेको जानकारी दिए । उनले इञ्जिनियर समुदायले विज्ञान, प्रविधि र पूर्वाधार विकासमार्फत राष्ट्र निर्माणमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै भने, ‘पूर्वाधारविना आर्थिक विकास सम्भव छैन, र इञ्जिनियरबिना पूर्वाधार सम्भव छैन । त्यसैले राष्ट्रको समुन्नतिको साँचो इञ्जिनियरहरूको हातमा छ ।’
प्रदेश सरकारले पारदर्शी, जनउत्तरदायी र परिणाममुखी शासन प्रणाली विकास गर्न प्राथमिकता दिएको उल्लेख गर्दै उनले इञ्जिनियरहरूको ज्ञान, दक्षता र सहकार्य यस अभियानमा अपरिहार्य रहेको बताए ।


