चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तु उद्योग व्यापार संघले आयोजना गर्न लागेको प्रथम कपिलवस्तु व्यापार मेला एवम कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीको सम्पुर्ण तयारी पुरा भएको छ । ‘राष्ट्रिय स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण र व्यापार विविधिकरण’ भन्ने मूल नारा सहित मेला भोलि ५ गतेदेखि १७ गते सम्म बाणगंगा–८ बोडगाउँ स्थित मायादेवी रङ्गशालामा सञ्चालन हुन लागेको मेलाका निर्देशक कृष्ण कुँवरले जनहित अनलाइन सङ्ग बताउनुभयो ।
निर्देशक कुँवरले मेलामा राष्ट्रिय तथा स्थानीय कलाकार सहितको सांस्कृतिक कार्यक्रम, जलपरी, फिसटनेल, विश्वकै अग्लो र होँचो कुकुर, बालउद्यान लगायतका विशेषता रहेको बताउनुभयो । त्यस्तै मेला स्थानमा फ्रि वाइफाई, फ्रि कफि, लक्की ड्र मार्फत दिनमा एक जनालाई साइकल उपहार, १ सय रुपैयाको टिकटमा १ सय बराबरकै सरफ लगायत विभिन्न विशेषता रहेको बताउनुभयो ।
त्यस्तै कपिलवस्तु उद्योग व्यापार संघका अध्यक्ष तथा मेला मुल समारोह समिति संयोजक खिमानन्द पौडेल (कोपिल) ले भोलि बिहान ११ बजे उद्घाटन तय भएको मेलालाई पूर्ण सफल बनाउन सबै पक्षसँग गरिएको छलफलबाट प्राप्त सुझावलाई समेटेर अघि बढेको बताउनुभयो । उहाँले प्रथम महोत्सवमा केहि कमजोरी भएपनि यस क्षेत्रमा अहिले सम्म लागेका मेलाहरु भन्दा पृथक बनाउने दाबी समेत गर्नुभयो ।
मेलाको उद्घाटन कार्यक्रम भब्य रुपमा गरिने भनेपनि को बाट उद्घाटन गराउने भन्ने खुलाइएको छैन । मेला प्रवेशको लागि ५० र १०० रुपैयाको टिकटदर कायम गरिएको छ ।


