जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–७, मोतिपुर स्थित जनसेवा कृषि सहकारी संस्था लिमिटेड मा लामो समयदेखि रिक्त रहेको सञ्चालक समिति अन्ततः पूर्ण भएको छ। असार ३ गते आयोजित विशेष साधारण भेलाले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो। शेयर सदस्यहरूमध्येका ज्येष्ठ सदस्य आत्मराम आचार्यको अध्यक्षतामा सम्पन्न भेलाले नयाँ कार्यसमिति चयन गरेको शेयर सदस्य तथा वडा सदस्य हरिशंकर पौडेलले जानकारी दिए। असार ३ गते चयन भएका पदाधिकारीहरूलाई बुधबार पद तथा गोपनीयताको शपथ गराइएको छ भने उनीहरूले पदभारसमेत ग्रहण गरेका छन्।नवगठित कार्यसमितिको अध्यक्षमा अम्मर बहादुर गुरुङ चयन भएका छन्। त्यसैगरी उपाध्यक्षमा रामबहादुर बस्नेत, सचिवमा मीना क्षेत्री थापा र कोषाध्यक्षमा शिवा रजाली गाहा चयन भएका छन्। सदस्यहरूमा कृष्णप्रसाद गैरे, टेकराज खनाल, शंकरप्रसाद न्यौपाने, रामबहादुर केसी र जनमुना भाट क्षेत्री रहेका छन्। जनसेवा कृषि सहकारी संस्था लिमिटेडमा २०८२ साल पुस २५ गतेदेखि विभिन्न विवाद तथा अन्योलका कारण नेतृत्व रिक्त रहेको थियो। नेतृत्व अभावका कारण संस्थाका नियमित गतिविधिसमेत प्रभावित हुँदै आएका थिए। शेयर सदस्यहरूको बढ्दो असन्तुष्टि र विरोधका बीच अन्ततः नयाँ नेतृत्व चयन भएसँगै करिब पाँच महिनादेखिको नेतृत्व संकट अन्त्य भएको छ।

