भालुवाङ । दाङ देउखुरीका एक पुर्व वडा अध्यक्ष आफ्नो घर व्यवहार चलाउन घर निर्माणको काम गर्न थालेका छन् ।
राप्ती गाउँपालिका वडा नम्बर ३ निवासी चन्दर चौधरीले आफ्नो बाल बच्चा पाल्न घर निर्माणको काम गर्न थालेका हुन् । मध्यम परिवारमा जन्मिएका चौधरी २०७४ सालमा दाङको राप्ती गाउँ पालिका वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रबाट टिकट पाई लोकप्रिय मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
वडाबासीको लोकप्रिय मत पाएर ५ वर्ष जनताको काम गरि चौधरी पुन आफ्नो कर्म थलोमा फर्किएका छन् । वडा अध्यक्ष हुँदा र वडा अध्यक्षबाट बाहिरिए पनि काम गरेर खानलाई आफुलाई कुनै अप्ठ्यारो महसुस नभएको उनले बताए । चौधरी विहान ८ बजे काममा आउँछन् अनि बेलुका ५ बजे घर फर्किन्छन् । उनको दिनचर्या आज भोली यसरीनै बितिरहेको छ ।
चौधरी नेकपा माओवादी केन्द्रका क्रियाशील सदस्य हुन् । तर राजनीति सँगै घर निर्माण व्यवसायीको कामलाई निरन्तरता दिएका छन् । राजनिति गरेर मात्र पेट भरिन्न कुनै एउटा आफ्नो श्रम हुनु पर्ने उनको धारणा छ । राजनितीमा लागेपछि मानिसहरु सोखिन हुने र श्रम नगरी पैसा कमाउने प्रविद्धी बढेको उनको बुझाई छ ।
चौधरीले श्रम गर्दा आफुलाई लाज नभई गर्व लाग्ने समेत बताए । श्रम गर्दा उनलाई ‘नेता जस्तो मान्छेले के काम गरेको’ भनेर खिसिटिउरी गर्नेहरु छन् । तर उनले आफ्नो काम छोडेका छैनन् । उनले आफ्नो सफलतामा राजनितिको भन्दा श्रमको भुमिका बढी रहेको बताए । चौधरीलाई वडाबासीले पुन वडा अध्यक्ष भएर आउन सुझाव दिइरहेको र आगामी स्थानीय निर्वाचनमा पुन पार्टीले टिकट दिए चुनावी मैदानमा होमिने उनले बताए ।


