कपिलवस्तु। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कपिलवस्तुमा आफ्नो साङ्गठनिक संरचनालाई टोल र वडा तहसम्म पुर्याउने कार्यको औपचारिक सुरुवात गरेको छ । सोही अन्र्तगत महाराजगंज नगरपालिका वडा नं. ८ मा सम्पन्न विशेष भेलाले पहिलो पटक ’वडा तदर्थ समिति’ गठन गरी नयाँ अध्यायको सुरुवात गरेको हो । जिल्लाका अन्य स्थानीय तहहरूमा संगठन निर्माणको तयारी भइरहँदा महाराजगंज–८ ले पहिलो वडा समिति गठन गर्दै पार्टीको तल्ले तहमा समेत प्रतिनिधित्वलाई सुनिश्चित गरेको छ ।
भेलाले दिनेश हमालको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । भेलाले दिनेश हमाललाई सभापति, अमित देव त्रिपाठीलाई उपसभापति र दिनानाथ प्रसाद चौधरीलाई सचिवमा चयन गरेको छ । यस्तै सह–सचिवमा राम निवास यादव तथा सदस्यहरूमा बृजलाल यादव, हरीश चन्द्र कोहार, रमेश यादव, मन्जु कोरी, रुपा यादव, सूर्यमती यादव र साबित्रा देवी कहार रहेका छन् । साथै, संगठनलाई व्यवस्थित बनाउन राम नारायण यादवको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति र बिशम्भर पासीको संयोजकत्वमा वडा समिति समेत गठन गरिएको छ ।
नवनिर्वाचित सभापति दिनेश हमालले जिल्लामै पहिलो वडा समितिको नेतृत्व गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्नुभएको छ । कपिलवस्तुमा रास्वपाको जग वडा तहबाटै बलियो बनाउने जिम्मेवारी हाम्रो काँधमा आएको छ । हामी कुनै पनि राजनीतिक भेदभाव नगरी वडाका हरेक नागरिकको समस्यामा साथ दिनेछौं, उहाले बताउनुभयो । यो समितिले महाराजगंजलाई मात्र नभई पूरै जिल्लालाई संगठन विस्तारको सन्देश दिने उहाले बताउनुभएको छ । भेलामा उपस्थित निर्वाचन क्षेत्र सभापति माधव पराजुलीले यो गठनलाई एउटा ’ब्रेक थ्रु’ को रूपमा व्याख्या गर्नुभएको छ ।
सहभागी स्थानीय कार्यकर्ताहरूले अब परम्परागत राजनीतिको विकल्पमा रास्वपाले वडा–वडामै उपस्थिति जनाउनु सुखद रहेको बताएका छन् । भेलाले आगामी दिनमा घरदैलो अभियान सञ्चालन गर्ने, नयाँ सदस्यता वितरणलाई तीव्रता दिने लगायतका सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउने निर्णय समेत गरेको छ । कपिलवस्तुका १० वटै स्थानीय तहका वडा–वडामा समिति विस्तार गर्ने रास्वपाको अभियान अन्तर्गत यो पहिलो कदम रहेको नेताहरूले बताएका छन् ।

