कपिलवस्तु । कपिलवस्तुमा २५ लाख रुपैयाँ बराबरको सुन र नगद चोरी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाको शिवराज नगरपालिका–५ स्थित प्रगति टोलमा रहेको दीपक न्यौपानेको घरबाट करीब २५ लाख बराबरको सुनका गरगहना र नगद चोरी भएको घटनामा संलग्न एक व्यक्ति पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार चोरीको घटना २०८२ साउन ६ गते राति करिब ३ बजे भएको थियो। सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले शंकास्पद व्यक्तिको खोजी थालेको थियो।
अनुसन्धानको क्रममा दाङ लमही नगरपालिका–४ अर्नवा बस्ने ३२ वर्षीय टोपेन्द्र सिंह ठकुरीलाई साउन ९ गते शिवराज–१, बनकट्टा स्थित भित्री सडकमा शंकास्पद अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। थप अनुसन्धान गर्दा उनले चोरी गरेको सुनका गरगहना आफ्नो घरमा लुकाएर राखेको स्वीकार गरेका थिए।
प्रहरीले ठकुरीको घर खानतलासी गर्दा रानीहार १ थान, सिक्री १ थान, झुम्का १ जोर, ब्रासलेट १ थान, टप ३ जोर, हार १ थान र मुन्द्रा १ जोर बरामद गरेको छ।
ठकुरीलाई कपिलवस्तु जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले वैखरीलाई जानकारी दिनुभयो।


