बुटवल। बुटवलको क्यानन माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी राजेश पौडेललाई सम्मान गरेको छ। विज्ञान संकायबाट ३।९६ जिपिए ल्याएर नेपालमै प्रथम भएको दाबी गरिएको पौडेललाई विद्यालयले नगद १५ हजारसहित सम्मान गरेको हो।
विद्यालयका अध्यक्ष थानेश्वर पौडेल र प्राचार्य शंकर भण्डारीले संयुक्त रूपमा चेक तथा खादा ओढाएर विद्यार्थी राजेशलाई सम्मान गरे। सम्मानित विद्यार्थी पौडेलले इन्जिनियरिङ अध्ययनका लागि नेपालमै तयारी गरिरहेको जनाउँदै, विद्यालयको पठन–पाठन वातावरण र शिक्षकहरूको सिकाउने शैलीले आफूलाई उत्कृष्ट नतिजा ल्याउन प्रेरित गरेको बताए।

कार्यक्रममा अध्यक्ष थानेश्वर पौडेलले विद्यालय प्रचारभन्दा गुणस्तरमा केन्द्रित रहेको उल्लेख गर्दै त्यसकै कारण सफलता हासिल भएको धारणा राखे। उनले पढ्दै कमाउँदै गर्ने अवसर समेत विद्यालयले प्रदान गर्दै आएको जानकारी दिए।
प्राचार्य शंकर भण्डारीका अनुसार विज्ञान संकायमा १०० प्रतिशत र व्यवस्थापन संकायमा ८० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। विज्ञान संकायमा क्यान मावि नै क्षेत्रको अग्रस्थानमा रहेको उनको दाबी छ।
यस वर्ष परीक्षामा व्यवस्थापन संकायबाट १५० जना र विज्ञान संकायबाट २९ जना गरी कुल १७९ जना विद्यार्थी सहभागी थिए। विद्यालयले अतिरिक्त क्रियाकलापका लागि कुनै अतिरिक्त शुल्क नलिने नीतिसमेत अवलम्बन गर्दै आएको प्राचार्य भण्डारीले बताए।
१३ सयभन्दा बढी विद्यार्थी अध्ययनरत क्यान माध्यमिक विद्यालय यस क्षेत्रकै एक प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा परिचित छ।


