नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा विद्युत कटौतीको तालिका सार्वजनिक गरेको छ । तालिका सार्वजनिक गरेपछि स्थानीयबासी आक्रोशित बनेका छन् ।
केन्द्रले अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाल ग्राहकको लोड बढ्न गएको भन्दै आइतबारका लागि चनौली वितरण केन्द्रअन्तर्गत पर्ने नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरहरूमा २ समयमा ३/३ घण्टाका दरले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ ।
विद्युत् लाइन भरतपुर १३२/३३ केभी सब स्टेशनबाट आउने ३३ केभी डग कन्डक्टर तारमा ३०० एम्पिएर भन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने (क्षमताले नधान्ने) अवस्था रहेको केन्द्रको सूचनामा उल्लेख छ । केन्द्रकाअनुसार अहिले विद्युत् माग बढेर सो तारमा ४५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न गाह्रो भएको छ ।
यो समस्या समाधानको लागि अघिल्लो आर्थिक वर्षमा नै बसेनी सब स्टेशनबाट विद्युत् आपूर्ति गर्ने गरी अर्को ३३ केभी प्रसारण लाइन निर्माणको क्रममा रहेको सूचनामा उल्लेख छ ।
केन्द्रले आइतबार एक दिनको लागि भनेर विद्युत् कटौतीको सूचना जारी गरे पनि यसलाई लोडसेडिङ सुरु गरिएको भन्दै स्थानीयबासीले सामाजिक सञ्जालहरुमा आक्रोश व्यक्त गरिरहेका छन ्। विद्युत् प्राधिकरणको चनौली वितरण केन्द्रकाअनुसार आइतबार नारायणी–माडी फिडरहरूमा बिहान ६ देखि ९ र दिउँसो ३ देखि ६ बजेसम्म विद्युत् काटिनेछ ।


