काठमाण्डाै । विगत २४ घण्टामा पहिरोमा परेर १५ जनाको ज्यान गएको छ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले हिजोदेखि आज दिउँसोसम्म २४ घण्टामा कास्कीमा ११ जना, म्याग्दीमा दुई जना र चितवनमा एक जना गरी पहिरोमा परी १५ जनाको ज्यान गएको जानकारी प्राप्त भएको बताउनुभयो ।
चितवनमा पहिरोसँगै त्रिशूली नदीमा दुई वटा बस बेपत्ता भएको घटनालगत्तै सिंहदरबारमा आज बसेको विपद्सम्बन्धी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग, यातायात व्यवसायीलगायत सम्बन्धित निकायसँग छलफलसमेत भएको छ । दुई वटा रात्रि बस पहिरोले बगाएको र ती बसको खोजी कार्य भइरहेको पनि गृह सचिव अर्यालले जानकारी दिनुभयो । उहाँले बसमा कति जना यात्रु थिए भन्ने अहिलेसम्म पनि यकिन नभएको बताउनुभयो ।
बैठकले काठमाण्डौबाहिर जाने र भित्रिने लामो तथा छोटो दुरीका गाडीमा टिकट अनिवार्य गर्ने निर्णय गरेको छ ।


