चेतन विष्ट, कपिलवस्तु । नेपालमा हरेक वर्ष ३७ हजार ५२९ जनाले सुर्तिजन्य पदार्थको सेवनका कारण हुने रोग बाट ज्यान गुमाउने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । विहिबार कपिलवस्तुको गोरुसिङ्गेमा भएको सुर्तिजन्य पदार्थका कारण हुने क्यान्सर रोग निवारणको लागि पत्रकार सङ्ग अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।


त्यस्तै नेपालको कुल जनसङ्ख्याको करिब २८ प्रतिशतले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको पनि तथ्याङ्कले देखाएको छ । विभिन्न संघ संस्थाले गरेको अनुगमन बाट प्राप्त आँकडाले हरेक वर्ष सुर्तिजन्य पदार्थको सेवन गर्ने जनसङ्ख्या घटेको देखिएपनि एक वर्षमा सुर्ति जन्य पदार्थको लागि मात्र ५४ अरब रुपैयाँ खर्च भैरहेको उक्त तथ्याङ्कले देखाएको छ । त्यस्तै सरकारले मात्र हरेक वर्ष ४० अरब रुपैयाँ सुर्तिजन्य पदार्थ बाट लाग्ने रुगको उपचारको लागि मात्र खर्च गरिरहेका जनाइएको छ ।
त्यस्तै क्यान्सर लागेका मध्ये करिब १६ प्रतिशतले रोगको उपचारको लागि आफ्नो घर र जमिन बेच्ने गरेको पनि प्रस्तुत गरिएको तथ्याङ्ले बताएको छ । त्यस्तै १० प्रमुख रोगको कारक तत्वमा सुर्तिजन्य पदार्थ पर्ने गरेको पनि सो तथ्याङ्ले देखाएको छ । कार्यक्रममा बुद्धभुमि नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुदेब खनालले क्यानसर मात्र नभएर सर्ने र नसर्ने दुबै रोगका विरुद्धमा पालिकाले सक्रिय रुपमा काम गरिरहेको बताउनुभयो ।
त्यस्तै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका डाक्टर शम्भु खनालले सुर्तिजन्य पदार्थ र क्यान्सरको सम्बन्ध बारे प्रष्ट पार्नुभयो । सुर्तिजन्य पदार्थको अल्पकालीन र दीर्घकालीन असर, यस बाट लाग्ने क्यान्सर सहित अन्य रोग लगायत विभिन्न विषयमा तथ्याङ्क सहित प्रस्ट्याउनु भयो । त्यस्तै उहाँले इ–सिग्रेट (हुक्का) को असर र यसको बढ्दो प्रयोगको बारेमा प्रष्ट पार्दै यसको असर बारेमा सञ्चारको क्षेत्र बाट हरेक नागरिकलाई सचेत पार्न आवश्यक रहेको बताउनुभयो ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेको अयोजना तथा हेल्थ आवाज मिडिया प्रा.ली. को सहकार्यमा सञ्चालन भएको उक्त कार्यक्रममा हेल्थ आवाजका प्रधान सम्पादक विजयराज काफ्लेले सुर्तिजन्य पदार्थ सम्बन्धि सरकारको निति नियमको बारेमा प्रस्ट्याउनुभएको थियो ।
पछिल्लो समयमा १८ वर्षभन्दा माथिका बालबालिका कुलतमा फस्दै गएकोले यसको दिर्घकालीन प्रभाव गम्भिर रहेकोले सुर्तिजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न आवश्यक रहेको अन्तरक्रिया कर्याक्रममा बोल्ने वक्ताहरुले जोड दिए ।
कार्यक्रममा पत्रकार महासंघ कपिलवस्तुका जिल्ला अध्यक्ष सहित जिल्लाभरका सक्रिय पत्रकारहरुको उपस्थिती रहेको थियो ।



