काठमाडौँ । कुवेतमा सडक दुर्घटनामा परी ३ जना नेपाली युवाले ज्यान गुमाएका छन् । सोमबार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सिसाइड रोडमा बाटो काट्ने क्रममा कारले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा काठमाडौंका सुजन कार्की, अछामका सुरतबहादुर कठायत र धनुषाका धीर गुर्मछान मगरको मृत्यु भएको हो । पापाजोन कम्पनीमा कार्यरत उनीहरूलाई कुवेती नागरिकले चलाएको कारले ठक्कर दिएको नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष राज मल्ल ठकुरीले बताए ।
गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको अरब टाइम्सले जनाएको छ । त्यस्तै मृतकहरूको शवलाई पोस्टमार्टमका लागि फरवानियामा अस्पतालमा राखिएको मल्लले जानकारी दिए । दूतावासका अनुसार मृतकहरूको बिमा र शव नेपाल पठाउन आवश्यक पहल भइरहेको छ ।

