शितगंगामा पावर सिमलपानी-भेडामारे सडक कालोपत्रे कार्य शुभारम्भ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

शितगंगा । शितगंगा नगरपालिका-१३, सिमलपानी हुँदै भेडामारे जोड्ने पावर सिमलपानी-भेडामारे सडकखण्डको कालोपत्रे निर्माण कार्यको शुभारम्भ गरिएको छ। २०८१ फागुन २२ गते एक भव्य समारोहका बीच प्रदेश सभा सांसद माननीय रामजी प्रसाद घिमिरेज्यूले औपचारिक रूपमा शिलान्यास गर्दै उक्त निर्माण कार्यको सुरुआत गर्नुभएको हो।

उक्त अवसरमा माननीय घिमिरेज्यूले प्रदेशको समृद्धि र जनताको सुख-सुविधाका लागि यातायात पूर्वाधार अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै आफ्नो कार्यकालमा विभिन्न विकास योजनाहरूलाई प्राथमिकताका साथ अघि बढाइरहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “सडक पूर्वाधारले मात्रै समग्र विकासको ढोका खोल्छ। यस क्षेत्रका बासिन्दाले वर्षौंदेखि भोग्दै आएको सडक समस्याको समाधान गर्दै कालोपत्रे निर्माण कार्य थालिएको छ, अब शितगंगा नगरपालिकाका जनताले सहज यातायात सुविधा पाउनुहुनेछ।”

सांसद घिमिरे एक कुशल, इमानदार र समर्पित नेताका रूपमा परिचित हुनुहुन्छ। उहाँको निरन्तर प्रयासकै कारण शितगंगासहित आसपासका क्षेत्रमा विकास निर्माणले तीव्रता पाइरहेको छ। उहाँले शिक्षा, स्वास्थ्य, यातायात र कृषि क्षेत्रमा सुधार गर्दै प्रदेशलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित काम गरिरहनु भएको छ।

विकासप्रेमी वडाध्यक्ष दुर्गा बहादुर बीसीको योगदान

उक्त सडक निर्माण कार्यमा शितगंगा-१३ का वडाध्यक्ष दुर्गा बहादुर बीसीज्यूको समेत महत्वपूर्ण भूमिका रहेको छ। उहाँको निरन्तर पहल, इमानदार नेतृत्व र दृढ प्रतिबद्धताकै कारण सडक निर्माण योजनाले मूर्तरूप लिन सफल भएको हो। वडाध्यक्ष बीसीले शितगंगा-१३ को समग्र विकासलाई प्राथमिकतामा राख्दै सडक, स्वास्थ्य, शिक्षा तथा सरसफाइको क्षेत्रमा उल्लेखनीय काम गरिरहनुभएको छ।

शिलान्यास समारोहमा वडाध्यक्ष बीसीज्यूले भन्नुभयो, “यो सडक निर्माण कार्य यहाँका जनताका लागि अत्यन्तै महत्वपूर्ण छ। अब यातायातमा सहजता आउनेछ, कृषि उत्पादनको बजारिकरण सरल हुनेछ, अनि आर्थिक गतिविधि पनि प्रवद्र्धन हुनेछ।” उहाँको नेतृत्वमा वडामा भएका विकास योजनाहरूले स्थानीय बासिन्दाको जीवनस्तर सुधार्न महत्वपूर्ण भूमिका खेलेको छ।

यस सडक निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाले दैनिक यात्रामा सहजता महसुस गर्नेछन्, व्यापार-व्यवसाय फस्टाउनेछ र समग्र शितगंगा नगरपालिका आर्थिक समृद्धितर्फ अग्रसर हुने अपेक्षा गरिएको छ। कार्यक्रममा जनप्रतिनिधिहरू, राजनीतिक दलका नेता, समाजसेवी तथा स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *