जनहित अनलाइन, कपिलवस्तु । विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी बाणगंगा उपशाखा अन्तर्गतको रक्तसञ्चार केन्द्रले नियमित रक्तदाताहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमअन्तर्गत सहभागी रक्तदाताहरूको हिमोग्लोबिन तथा रगतमा चिनीको मात्रा परीक्षण निःशुल्क रूपमा गरिएको थियो ।
स्वास्थ्य परीक्षण कार्यक्रममा कुल ५३ जनाले सेवा लिएका थिए भने १२ युनिट रगत संकलन गरिएको रक्तसञ्चार केन्द्रले जनाएको छ ।
सहभागी रक्तदाताहरूले स्वास्थ्य परीक्षणसँगै नियमित रक्तदानप्रति थप उत्साह प्राप्त भएको बताएका थिए । वक्ताहरूले “रक्तदान जीवनदान हो” भन्ने सन्देशलाई आत्मसात गर्दै नियमित रक्तदान र स्वास्थ्य सचेतनालाई समाजका हरेक तहसम्म पुर्याउन आवश्यक रहेकोमा जोड दिएका थिए ।
नेपाल रेडक्रस सोसाइटी बाणगंगा रक्तसञ्चार केन्द्रले मानव जीवन बचाउने महान कार्यमा निरन्तर योगदान पुर्याउँदै आएका सम्पूर्ण नियमित रक्तदाताप्रति हार्दिक धन्यवाद तथा सम्मान व्यक्त गरेको छ । मानव सेवाको क्षेत्रमा रक्तदाताहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने आयोजकले जनाएको छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाणगंगा उपशाखाका सचिव कृष्ण अधिकारी, रक्तदान भवन निर्माण संयोजक विष्णु प्रसाद न्यौपाने, प्राविधिक निर्माया थापा, सामुदायिक अस्पताल कपिलवस्तुका उपाध्यक्ष लक्षुमन अधिकारी तथा कोषाध्यक्ष गोपालमणि ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमको आयोजना नेपाल रेडक्रस सोसाइटी बाणगंगा रक्तसञ्चार केन्द्रले गरेको थियो भने सामुदायिक अस्पताल कपिलवस्तु ले प्राविधिक सहयोग प्रदान गरेको थियो ।


