‘वित्तीय संस्था र व्यवसायी बीच बढ्दै गएको द्वन्दलाई समाधान गर्न आवश्यक’

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चेतन विष्ट, कपिलवस्तु । पछिल्लो समय वित्तीय संस्था र व्यवसायी बीच बढ्दै गएको द्वन्दलाई समाधान गर्न आवश्यक रहेको कपिलवस्तुका उद्यगी व्यवसायी तथा वित्तीय संस्थाहरुले जोड दिएका छन । व्यवसायी र वित्तीय संस्था बीच नङ र मासुको जस्तै सम्बन्ध हुने र त्यहि सम्बन्धले नै आर्थिक क्षेत्रलाई प्रवर्द्धन गर्न सहयोग पुर्याउने भएकाले दुई क्षेत्र बीचको सम्बन्ध बलियो बनाउनुपर्नेमा उनीहरुले जोड दिएका छन ।

बिहीबार कपिलवस्तु उद्योग वाणिज्य संघले आयोजना गरेको बैंक तथा वित्तीय संस्था बीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन । आर्थिक सङ्कट कै कारण व्यवसायीहरुले ऋण तिर्न नसकेको स्वीकार गर्दै लिएको ऋण भने तिर्ने प्रतिबद्धता जनाएका छन । वित्तीय संस्थाहरुले पनि ऋण र परिवारका अन्य सदस्यहरुलाई समेत अनावश्यक टर्चर गरिरहेको भन्दै त्यसलाई रोक्न व्यवसायीहरुले माग गरेका थिए । त्यस्तै उनीहरूले जुन व्यापारी अफ्ठ्यारो स्थितिमा छ त्यसैलाई नै वित्तीय संस्थाले दुख दिइरहेको भन्दै त्यस्तो नगर्न आग्रह गरेका छन ।

यता बैङ्किङ क्षेत्रका प्रतिनिधिले भने व्यवसायीले ऋण ल्याउदा गहिरो अध्यन नगरी कारोबार गर्दा समस्या उत्पन्न भएको बताएका छन । ऋण ल्याउदा वा वित्तीय सम्बन्धि कार्य गर्दा व्यवसायीले सत्य तथ्य बुझेर कारोबार गर्नुपर्नेमा जोड दिए । आर्थिक अवस्था सङ्कटमा परेकै कारण वित्तीय संस्थाहरुले ब्याजदर बढाउने गरेको भन्दै आर्थिक अवस्था सुधार भएपछि ब्याजदर पनि घटाउँदै लगेको उनीहरुले बताए । पछिल्लो समय व्यवसायी मात्र नभएर वित्तीय संस्थामा काम गर्ने कर्मचारी समेत समस्यामा पर्ने गरेको भन्दै सबै दोष वित्तीय संस्थालाई नथोपार्न आग्र गरे ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले दुई क्षेत्र बिचको सम्बन्ध सुधार गर्नको लागि एक आपसमा सल्लाह र छलफल गर्न आवश्यक रहेको बताउनुभयो । विगतको समयमा यस क्षेत्रमा वित्तीय संस्था ल्याउनको लागि व्यवसायीहरुले नै धेरै त्याग गरेको भन्दै दुबै क्षेत्र सहकार्य गर्दै अगाडि बढ्नुको विकल्प नरहेको उहाँले बताउनुभयो । कहिँकतै बैंकको ऋण तिर्न नसकेर कुनै व्यवसायी घरवास लिलाम हुने अवस्था आएको छ भने वित्तीय संस्थाहरुले उद्योग वाणिज्य संघमा खबर गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

त्यस्तै संघका निवर्तमान अध्यक्ष डोलकराम घिमिरेले व्यवसायीहरुका समस्यालाई वित्तीय संस्थाले सकारात्मक ढङ्ग बाट बुझिदिन आग्रह गर्नुभयो । कपिलवस्तु उद्योग वाणिज्य संघ र बाणगङ्गाका वित्तीय संस्था बीचको सम्बन्धलाई प्रगाढ बनाउन यस्ता कार्यक्रमले टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा संघका पदाधिकारी, यस क्षेत्रका वित्तीय संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीको अध्यक्षता, उपाध्यक्ष मिना पोख्रेल पौडेलको स्वागत तथा महासचिव नवदत्त घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *