जनहित अनलाइन, कपिलवस्तु ।
विश्व प्रसिद्ध डान्स रियालीटी सो ‘वर्ल्ड अफ डान्स नेपाल -२०२६’ मा कपिलवस्तुको यसोधराका प्रेमचन्द पाण्डेय को समूह प्रथम भएको छ । केही समय अगाडि सम्पन्न प्रतियोगितामा उक्त समुहले प्रथम स्थान सङ्गै अन्य उपाधी समेत जित्न सफल भएको छ ।
समूहले अपर टिम डिभिजन अन्तर्गत प्रतिस्पर्धा गर्दै प्रथम रनरअपको उपाधी सहित वेस्ट कोरियोग्राफी अवार्ड र वेस्ट कस्ट्युम अवार्ड समेत प्राप्त गरेको छ। यस उपलब्धिसँगै समूहले अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने वर्ल्ड अफ डान्स च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत सुनिश्चित गरेको छ।
यस उल्लेखनीय सफलतासँगै कपिलवस्तुको यशोधरा गाउँपालिका–८, बाँसखोर निवासी प्रेमचन्द पाण्डेयको संघर्षपूर्ण र प्रेरणादायी यात्रा पनि चर्चाको विषय बनेको छ। सानैदेखि अभिनय, नृत्य तथा गायनप्रति रुचि राख्ने प्रेमचन्दले आफ्नो गाउँमा कला सिक्ने व्यवस्थित कक्षा तथा प्रशिक्षणको अवसर नपाए पनि सपनालाई त्यागेनन्। स्थानीय नाट्य समूहमा आबद्ध हुँदै उनले कलायात्राको सुरुआत गरे र सीमित स्रोत–साधनका बीच निरन्तर अभ्यासलाई नै आफ्नो गुरु बनाए।
कला क्षेत्रमा थप अवसर खोज्दै उनी काठमाडौं पुगे। विगत तीन वर्षदेखि विभिन्न नाट्य तथा सांस्कृतिक समूहसँग आबद्ध रहँदै अभिनय र नाट्यकलामा आफूलाई निखार्दै आएका प्रेमचन्दले करिब तीन महिनाअघि मात्र नृत्य यात्राको औपचारिक सुरुआत गरेका थिए। अभिनयबाट केही समय विश्राम लिएर नृत्यमा केन्द्रित भएका उनका लागि यो यात्रा सहज थिएन। वर्षौंदेखि नृत्य अध्ययन र अभ्यास गरिरहेका व्यावसायिक तथा अनुभवी कलाकारहरूको बीचमा प्रतिस्पर्धा गर्नु आफैंमा ठूलो चुनौती थियो।
प्रेमचन्द आबद्ध इननेट सोल समूहमा लामो समयदेखि नृत्य क्षेत्रमा सक्रिय कलाकारहरू थिए । नृत्य भन्दा फरक पृष्ठभूमिबाट आएका प्रेमचन्दका लागि त्यस्ता अनुभवी कलाकारसँग अभ्यास र प्रतिस्पर्धा गर्नु चुनौतीपूर्ण भए पनि समूहका सदस्यहरूको साथ, विश्वास र प्रोत्साहनले उनलाई निरन्तर अगाडि बढ्न प्रेरित गर्यो। प्रत्येक अभ्याससँगै उनको आत्मविश्वास बढ्दै गयो र उनी समूहको महत्वपूर्ण सदस्यका रूपमा स्थापित भए।
विश्वकै प्रतिष्ठित नृत्य प्रतियोगितामध्ये एक मानिने वर्ल्ड अफ डान्स नेपाल विगत दुई वर्षदेखि नेपालमा आयोजना हुँदै आएको छ। यस प्रतियोगिताको आयोजना Movent Studio ले गरेको हो भने रोशन गाहात्राज राष्ट्रिय निर्देशकका रूपमा रहेका छन्। यस वर्षको ग्रान्ड फिनालेमा भारतका चर्चित कोरियोग्राफर तथा निर्देशक Terence Lewis ग्रान्ड जजका रूपमा उपस्थित थिए। प्रतियोगिताका आधिकारिक निर्णायकमा Kiran Thapa र JD Tamu रहेका थिए।
यस वर्ष नेपालका नेपालगञ्ज, बुटवल, काठमाडौं, इटहरी, पोखरा लगायतका सहर तथा भारतका विभिन्न स्थानबाट आएका कलाकारहरूले सहभागिता जनाएका थिए। जुनियर डिभिजन, जुनियर टिम डिभिजन, अपर डिभिजन र अपर टिम डिभिजन गरी चार विधामा भएको प्रतिस्पर्धामा सेमिफाइनल चरणसम्म करिब १०५ प्रस्तुति पुगेका थिए। नेपाल र भारतका उत्कृष्ट नर्तकबीच भएको कडा प्रतिस्पर्धामा इननेट सोल समूहले आफ्नो छुट्टै पहिचान बनाउन सफल भयो। समूहमा मनी के राई, मुस्कान राउत, प्रबृति सुब्बा, रेनुका घर्ती मगर, रोशन खाती, लुनिवा महर्जन, दृष्णा तथा प्रेमचन्द पाण्डेय सदस्यका रूपमा रहेका थिए। विभिन्न जिल्ला र फरक–फरक पृष्ठभूमिबाट आएका कलाकारहरूको साझा प्रयासले राष्ट्रिय स्तरमा उल्लेखनीय उपलब्धि हासिल गरेको हो।
स्थानीय स्तरमा कला सिक्ने आधारभूत अवसरसमेत नपाएका एक युवाले अभिनयबाट यात्रा सुरु गर्दै केही महिनामै विश्वस्तरीय ब्रान्डको मञ्चसम्म पुगेर सफलता हासिल गर्नु केवल व्यक्तिगत उपलब्धि मात्र होइन, निरन्तर मेहनत, आत्मविश्वास र समर्पणको उत्कृष्ट उदाहरण पनि हो। प्रेमचन्द पाण्डेयको यो यात्रा आज ग्रामीण भेगका थुप्रै युवाका लागि प्रेरणाको स्रोत बनेको छ। उनको सफलताले एउटा स्पष्ट सन्देश दिन्छ— अवसर जन्मस्थानले होइन, निरन्तर प्रयास र दृढ इच्छाशक्तिले सिर्जना गर्छ ।




