चेतन विष्ट, कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १४ का स्थानीयहरुले वडालाई नगरमै उत्कृष्ट बनाएको भन्दै वडा अध्यक्ष सहित सिङ्ग वडा परिवारलाई धन्यवाद दिएका छन । आज वडामा भएका वार्षिक बजेट, वडा सभा एवं सुझब सङ्कलन कार्यक्रममा उनीहरुले धन्यवाद दिएका हुन ।


कार्यक्रममा बोल्दै नगरका पुर्व उपमेयर टिका रेस्मीले आफु उपमेयर हुँदा वडाको विकासको लागि सक्दो सहयोग गरेको भन्दै अहिले बाहिर बसेरै भएपनि सहयोग गरिरहेको बताउनुभयो । आगमि दिनमा वडाले भौतिक कार्यलाई मात्र नभएर स्थानीयको आर्थिक अवस्था सुधार गर्ने खालका योजना ल्याउन सुझाब व्यक्त गर्नुभयो ।


त्यस्तै वडा अध्यक्ष दामोदर न्यौपानेले चालु आर्थिक वर्षका योजनाहरुको प्रगति प्रस्तुत र आगामि आर्थिक वर्षको बजेटका लागि सुझाब सङ्कलन गर्ने उद्देश्यल कार्यक्रम गरिएको बताउनुभयो । वडा भित्र रहेका समस्यलाई आफु सहित वडा सदस्यले टोलटोल बाट सङ्कलन गरेर ल्याएको भन्दै ती गुनासा तथा मागहरुलाई आगामि आर्थिक वर्षको बजेटमा संलग्न गराउने प्रतिबद्धता समेत जनाउनुभयो ।
फरक प्रसङ्गमा उहाँले नदिजन्य पदार्थको अवैध उत्खनन्मा आफुलाई समेत जोडर विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित गरेको भन्दै प्रमाण सहित आउन चुनौती दिनुभयो । यदि प्रमाण सहित आएर पुष्टि गर्न सके आफुले राजिनामा दिन तयार रहेको समेत उहाँले बताउनुभयो ।


कार्यक्रममा वडा सचिव मोदनाथ ज्ञवालीले चालु आर्थिक वर्षमा भएका कामको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
वडा सदस्य ओम दर्लामीको स्वागत तथा योगराज पल्लीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा वडा सदस्यहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।

