लुम्बिनी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको सपथ लिएका छन्। बुधबार बिहान प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री आचार्य र मन्त्रीहरूलाई पद तथा गोपनियताको सपथ गराएका हुन्।

मुख्यमन्त्री आचार्यले पद तथा गोपनियताको सपथ लिए लगत्तै प्रदेशका अन्य ९ जनालाई मन्त्री नियुक्त गरेका थिए।
नेपाली कांग्रेसबाट प्रचण्डविक्रम न्यौपाने, धनेन्द्र कार्की, बादशाह कुर्मी, जन्मजय तिमिल्सिना र सरोज थापाले मन्त्रीको पद तथा गोपनियताको शपथ ग्रहण गरे।

त्यस्तै, एमालेबाट दिनेश पन्थी, भूमिश्वर ढकाल, सीता शर्मा र खेम सारूले शपथ लिएका छन्।

नव नियुक्त मन्त्रीहरूको कार्यविभाजन टुंगो लागेको छैन। मन्त्रालय टुंगो नलागेकाले उनीहरूले बिनाविभागीय मन्त्रीकै रूपमा शपथ लिएका थिए।

नेपाली कांग्रेस र नेकपा एमालेबीच गएको असार १७ गते भएको सहमती अनुसार लुम्बिनी प्रदेशमा नेकपा ९एमाले० संसदीय दलका उपनेता रहेका आचार्यको नेतृत्वमा सरकार गठन भएको छ।

नयाँ सत्ता समीकरणअनुसार गठित मन्त्री परिषदमा नेपाली कांग्रेसका ५ र नेकपा एमालेका मुख्यमन्त्री सहित ५ जना मन्त्री बनेका छन्। अन्य २ वटा मन्त्रालय नयाँ सत्ता समीकरणमा सहभागी हुने साना दललाई दिइने भएको छ।

लुम्बिनी प्रदेशमा १० वटा दल र १ जना स्वतन्त्र सांसदको प्रतिनिधित्व छ। प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ सांसद रहेको लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो दलका रूपमा रहेको नेकपा एमालेसँग १८ जना प्रत्यक्ष र ११ जना समानुपातिक गरी २९ जना सांसद छन् भने नेपाली कांग्रेसका प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी २७ जना सांसद छन्।

सरकार गठन गर्न ४४ जना सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेस र एमाले दुई दल मिल्दा मात्रै पनि लुम्बिनी प्रदेश सरकार बनाउन प्रयाप्त बहुमत पुग्छ तर, नागरिक उन्मुक्ति पार्टीका ४ जना, लोकतान्त्रीक समाजवादी पार्टीका ३ जना र जनता समाजबादी पार्टीका ३ जना गरी थप १० जना सत्ता समीकरणमा सहभागी हुने भएका छन्।

प्रदेशमा तेश्रो ठुलो दलको रूपमा रहेको नेकपा माओवादी केन्द्र यसपटक प्रतिपक्षीको भूमिकामा रहने छ। माओवादी केन्द्र सँग ७ जना प्रत्यक्ष र ३ जना समानुपातिक गरी सभामुख बाहेक १० जना सांसद रहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ जना, राष्ट्रिय जनमोर्चाका १, एकीकृत समाजवादी पार्टीका १ जना र स्वतन्त्र १ जना सांसद पनि लुम्बिनी प्रदेशमा प्रतिपक्षी सांसदको रूपमा रहने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *