रुपन्देहीका विभिन्न स्थान बाट १४ लाख ३६ हजार बढीको अवैध सामान बरामद

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

भैरहवा ।  जिल्लाका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलेर भित्र्याइएका खाद्यान्न तथा घरायसी उपयोगका सामान बरामद गरेको छ । जिल्ला प्रहरीले विभिन्न स्थानमा गरेको जाँचका क्रममा भन्सार छलेर भित्र्याइएका १४ लाख ३६ हजार ७० रुपैयाँ बराबरका सामान बरामद गरेको र आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको जनाएको छ ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिकाको मेउडिहवाबाट बेवारिसे अवस्थामा छाडिएका एक लाख ८४ हजार मूल्य बराबरका दुई थान एयर कन्डिसनर (एसी), ६ बोरा चिनी बरामद गरिएको हो । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले शुक्रबार बुटवल–६, ट्राफिक चोकबाट ११ हजार रुपैयाँ मूल्यका ४४ थान लेगिन्ज बरामद गरेको थियो ।
इलाका प्रहरी बेलहियाबाट खटिएको टोलीले सिद्धार्थनगर–१ कोटहीमाइमा बेवारिसे अवस्थामा राखिएका एक लाख ३२ हजार रुपैयाँ बराबरका ५० थान सडक बत्ती, तन्ना कपडाको एक रोल, कमिज सिलाउने कपडा एक रोल बरामद गरेको प्रवक्ता भट्टले जनाएका छन् । त्यस्तै कोटहीमाई–६, बोगडीघाटबाट १० हजार ७ सय रुपैयाँ मूल्यका विभिन्न ब्राण्डका पेय पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ । रोहिणी–२ खुरहुरियाबाट ७७ हजार रुपैयाँ बराबरको भन्सार छलेर भित्र्याइएको इन्डिया गेट चामल, बदाम, काजु लगायत बरामद गरिएको जिल्ला प्रहरीले जनाएको छ ।

इलाका प्रहरी बुटवलबाट खटिएको टोलीले बुटवल–३, स्थित सिद्धार्थ राजमार्ग अन्तर्गत चिडिया खोलामा लु१क ४२९६ नम्बरको ट्रक जाँच गर्दा बिल नभएका १० लाख २२ हजार एक सय रुपैयाँ मूल्य बराबरका १ सय ८ थान ग्यास सिलिन्डर, ६० बोरा चिनी बरामद गरेको जनाएको छ । समान बरामदसँगै ट्रक चालक गुल्मीको छत्रकोट–३ का ४३ वर्षीय भोजराज कँडेललाई पक्राउ गरेर आवश्यक अनुसन्धान र कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौंरले सिमावर्ती भारतीय बजारमा समान खरिद गरेपछि भारतीय नागरिकले नै रुपन्देही लगायत जिल्लाका बासिन्दाका घरसम्मै समान पुर्‍याउने गरेको जानकारी पछि अप्रेसन तीब्र तुल्याएको जानकारी दिए । ‘भारतका बजारमा सामानको मूल्य चुक्ता गरेपछि भारतीयले नै घरसम्म ती सामान डेलिभर गरिदिने गुनासो आएपछि नियन्त्रण गर्न प्रहरी परिचालन गरेका छौं,’ राठौरले भने, ‘जसरी हुन्छ तस्करीलाई निरुत्साहित गर्न लागिपरेका छौं, यसमा नागरिकको सहयोग जरुरी छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *