कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाको कार्यपालिकाको बैठक सम्पन्न भएको छ। आईतबार विभिन्न महत्वपूर्ण निर्णयहरु गर्दै बैठक सम्पन्न भएको नगरका प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकले अघिल्लो कार्यपालिकाका निर्णयहरुको कार्यान्वयनको समीक्षा गर्दै कार्यप्रगति सन्तोषजनक भएको निष्कर्ष निकालेको छ । बैठकले चालु आर्थिक वर्षका योजना उपभोक्ता समितिमार्फत सञ्चालन गर्न असोज महिनाभित्रै समिति गठन गरी आवश्यक तालिम दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
यस्तै वर्षायामका कारण जीर्ण भएका सडक मर्मतका लागि सबै वडामा बजेट वितरण गर्ने र टोल विकास संस्थामार्फत पूर्ण सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय समेत बैठकले गरेको छ । सरसफाइ अभियानलाई सफल बनाउन भूमिका निर्वाह गर्ने सम्पूर्ण सरोकारवालालाई धन्यवाद दिँदै यसलाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।
त्यसैगरी सामाजिक सुरक्षा भत्ता लाभग्राहीमध्ये अझै नवीकरण गर्न बाँकी भएकाले भदौ मसान्तभित्र वडा कार्यालयमा गई अनिवार्य रूपमा नवीकरण गर्न आग्रह गरिएको छ ।
नगरप्रमुख चक्रपाणी अर्यालले नगरको विकास र सेवा प्रवाहलाई अझ व्यवस्थित बनाउन कार्यपालिकाले आवश्यक निर्णयहरु गरेको बताउनुभयो । उहाँले विकास निर्माणका योजना समयमै सम्पन्न हुने वातावरण बनाउन नगर प्रतिबद्ध रहेको बताउँदै सरसफाइ अभियानलाई समेत निरन्तर अगाडि बढाइने बताउनुभयो ।
उपप्रमुख रिता कुमारी चौधरीले सबै वडामा समावेशी र व्यवस्थित ढंगले योजना कार्यान्वयन गर्न नगरपालिका तत्पर रहेको बताउनुभयो । “नगरबासीले सेवामा सहजता पाउनका लागि सामाजिक सुरक्षा भत्ता नवीकरणदेखि सडक मर्मत र सरसफाइ अभियानसम्मका कामलाई प्राथमिकतामा राखिएको छ,” उहाँले भन्नुभयो ।


