कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले कृषि पेशामा संलग्न पशुपालक किसानहरूलाई च्यापकटर ९घाँस र पराल काट्ने मेसिन० वितरण गरेको छ। आर्थिक वर्ष २०८१र८२ का लागि विनियोजित बजेटअन्तर्गत ५० प्रतिशत अनुदानमा नौ जना किसानलाई उक्त उपकरण वितरण गरिएको पशु सेवा शाखा प्रमुख राजकुमार तिवारीले जानकारी दिनुभयो।
तिवारीका अनुसार नगरपालिकाले सार्वजनिक सूचना जारी गरी आवेदन आह्वान गर्दा १९ वटा आवेदन परेका थिए। तीमध्ये मापदण्ड पूरा गर्ने नौवटा कृषि फर्महरूलाई छनोट गरि च्यापकटर वितरण गरिएको हो।
मेसिन हस्तान्तरण कार्यक्रममा नगरप्रमुख चक्रपाणी अर्यालले नगरपालिकालाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउने लक्ष्यसहित यान्त्रिकीकरणमा जोड दिइएको बताउनुभयो। उहाँले आधुनिक कृषि प्रणालीलाई प्रवर्द्धन गर्न किसानलाई यान्त्रिक उपकरण तथा प्राविधिक सहयोग प्रदान गर्दै आएको उल्लेख गर्नुभयो।
“बाणगंगामा किसानको ठूलो संख्यालाई लक्षित गर्दै विगतदेखि नै यान्त्रिकीकरण, विउविजनमा अनुदान र प्राविधिक सहायता दिँदै आएका छौं,” नगरप्रमुख अर्यालले भन्नुभयो। उहाँले आगामी वर्षमा पनि किसानको माग र आवश्यकताका आधारमा नीति तथा कार्यक्रम तय गरिने स्पष्ट पार्नुभयो।
उहाँले कृषि पेशालाई व्यवसायिक बनाउन मागअनुसारका योजनाहरू कार्यान्वयनमा ल्याइएको र अनुदानमा वितरण गरिएका उपकरणहरूले किसानको काम सजिलो बनाउने विश्वास व्यक्त गर्नुभयो। यान्त्रिकीकरणले उत्पादन वृद्धि र लागत घटाउने भएकाले किसानले प्रत्यक्ष लाभ लिन सक्ने उहाँको भनाइ थियो।
उक्त च्यापकटर पाएका किसानहरूले अनुदानमा कृषि उपकरण उपलब्ध गराएकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमले उत्पादनमा वृद्धि हुने र जीवनयापन सहज हुने प्रतिक्रिया दिएका छन्।
नगरपालिकाले प्रत्येक आर्थिक वर्षमा पशु विकास शाखाका लागि ८० लाखदेखि १ करोड २० लाखसम्म बजेट विनियोजन गर्दै आएको छ।


