चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको चारनम्बरमा प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप–२०८० हुने भएको छ । आगामि चैत्र १७ गतेदखि चारनम्बर स्थित बुद्धरङ्गशालामा प्रतियोगिता शुरु हुन लागेको हो ।
प्रतियोगिताको बोरमा जानकारी दिन बुधवार बुद्धरङ्गशालामा आयोजना गरिएको पत्रकार सम्मेलनमा ’स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नारासहित १७ देखि २४ गतेसम्म प्रतियोगिता सञ्चालन हुने कपिलवस्तु फुटबल संघका अध्यक्ष तिलक थापाले बताउनुभयो ।
अध्यक्ष थापाका अनुसार प्रतियोगितामा ’ए’ डिभिजनका क्लबसहित ८ टोलीको सहभागिता रहने छ । जसमा थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस क्लब, हनामी बीएफसी, सुदूरपश्चिम–११, सहारा क्लब र आयोजक टिमबाट कपिलवस्तु –११ रहनेछन् ।
प्रतियोगितामा प्रथम हुनेलाई ११ लाख ११ हजार १११ र दोस्रो हुनेलाई ५ लाख ५५ हजार ५५५ रुपैयाँ र शिल्ड, मेडल र प्रमाणपत्र दिइने अध्यक्ष थापाले जानकारी दिनुभयो ।
जिल्ला सहित सिङ्गो लुम्बिनी प्रदेशमै सबैभन्दा ठुलो धनराशिको गोल्डकप व्यवस्थापन गर्नका लागि करिब १ करोड १८ लाख खर्च हुने अनुमान गरिएको छ ।
लुम्बिनी प्रदेश फुटबल संघका उपाध्यक्ष शक्ति सिंह ठकुरीले कपिलवस्तु सहित सिङ्गो देशमै युवाहरु पलायन भैरहेको यो समयमा यस्ता खेलकुदले युवाहरुलाई देशमै रोक्ने वातावरण सिर्जना गर्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै कपिलवस्तु उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष डोलकराम घिमिरे, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरनमाज बज्राचार्य लगायतले बोल्दै जिल्लाकै गौरबका रुपमा हुन लागेको गोल्डकपलाई सबै मिलेर सफल पार्नुपनर्ने बताउनुभयो ।
पत्रकार सम्मेलनमा कपिलवस्तु उद्योग व्यापार संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) अकोरव लुम्बिनी प्रदेश सदस्य राजु खराल, बाणगंगा वेलफेयर सोसाइटीका महासचिव बुद्धि बहादुर रोकाहा क्षेत्री (दिनेश), जिल्लाका सक्रिय पत्रकारहरु लगायतको उपस्थिती रहेको थियो ।

