देशभरका ५४ लाख बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धकाे खोप

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा करिब ५४ लाख ४२ हजार चार सय ६९ बालबालिकाले खोप लगाइसकेका छन्।  बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले खोप अभियानमा करिब ९३ प्रतिशतले खोप लगाएको जानकारी दिए।

गत फागुन १३ गतेदेखि दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले पश्चिमरुकुम र जाजरकोटबाहेक ७५ जिल्लामा खोप अभियान सञ्चालन गरेको छ। ती जिल्लाका कूल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ।

उनले यहीँ चैत ७ गतेसम्म सबै लक्ष्य हासिल गर्नेसमेत बताए। ‘हामीले सोचेजस्तो नै सबै बालबालिकाले खोप लगाएका छन्’, उनले भने ‘हामीले निर्धारण गरेको लक्ष्यअनुसार सबै बालबालिकाले खोप लगाउँछन्।’

दादुरा–रुबेलाको अतिसङ्क्रमित भारतसँग सीमा जोडिएका २१ तथा काठमाडौँ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्ष मुनिका र ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइँदैछ।

खोप बिहान १० देखि अपराह्न ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोपकेन्द्रमा लगाइएको छ। खोप अभियानका लागि देशभरि ४८ हजार सात सय ९८ खोपकेन्द्र रहेका छन्। यस्तै, ४९ हजार नौ सय ३७ स्वास्थ्यकर्मी र ५९ हजार नौ सय छ स्वयंसेवक परिचालन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *