जनहित अनलाइन, कपिलवस्तु । नेपाल दर्शन समाज कपिलवस्तुको विशेष निमन्त्रणमा प्रदर्शनरत चलचित्र ‘मोहर’ को टिम कपिलवस्तुमा आएको छ । चलचित्र प्रति दर्शकको प्रतिक्रिया बुझ्न तथा प्रचार प्रशारको लागि चलचित्रका निर्देशक ओम प्रतिक, निर्माता चुम्बन जगँ साही, मुख्य अभिनेत्री बेनिशा हमाल, अभिनेता अर्जुन जगँ साहि, प्रोडक्सन म्यानेजर लक्ष्मण राज पौडेल लगायतको टिम कपिलवस्तुको ओएसीस सिनेमा हलमा आएको हो ।
दर्शन समाज कपिलवस्तुले आज ओएसीस सिनेमा हलमा चलचित्र मोहर हेर्न खोज्ने दर्शकहरुका लागि दुई वटा ‘सो’ निशुल्क प्रदान गरेको थियो । चलचित्रको मध्यन्तरमा आएको चलचित्रको टिमलाई दर्शकहरुले तालि र हुटिङले स्वागत गरेका थिए । पर्दामा हेरिरहेको कलाकारलाई उहि समयमा हलमै हेर्न पाउँदा दर्शक निक्कै उत्साहित र खुसी देखिन्थे ।
देउकी प्रथालाई प्रमुख विषयवस्तु बनाएर निर्माण गरिएको चलचित्र लुम्बिनी प्रदेशका दाङ, रोल्पा, प्युठान लगायतका जिल्लामा छायाङ्कन गरिएको निर्देशक ओम प्रतिकले बताउनुभयो । बालिकामाथि हुने परम्परागत सामाजिक हिंसाका घटनालाई चलचित्रले निरुत्साहित गर्ने सन्देश प्रवाह गर्ने उहाँले बताउनुभयो ।
त्यस्तै अभिनेत्री बेनिशा हमालले चलचित्र निर्माणमा सबैले निक्कै मेहनत गरिएको भन्दै स–परिवार चलचित्र हेरिदिन आग्रह समेत गर्नुभयो ।
चलचित्रमा पल शाह, बेनिशा हमाल, निती शाह, अर्जुनजङग शाही, मिस पविलगायत कलाकारले अभिनय गरेका छन् । चलचित्रमा भूपेन्द्र अधिकारीले सम्पादन, दिपेन बस्न्यातले छायाङ्कन, कुमार महर्जनले द्वन्द्व निर्देशन गरेका छन् ।

