कपिलवस्तु । थ्रीस्टारलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको उपाधिनजिक पुगेको छ ।कपिलवस्तुस्थित बुद्ध रंगशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा पुलिसले थ्रीस्टारलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
पुलिसका लागि विवेक पाण्डेले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ५१औँ मिनेटमा गोल गरेका थिए । पुलिसले उपाधिका लागि सुदूरपश्चिम–११ र हनामी बीएफसीबीचको विजेतासँग खेल्ने छ ।
यी दुई टोलीले दोस्रो सेमिफाइनलअन्तर्गत बिहीबार खेल्ने छन्। पुलिसले क्वार्टरफाइनलमा सहारा फुटबल एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै थ्रीस्टारसँगको भेट पक्का गरेको थियो । थ्रीस्टारले भने आयोजक कपिलवस्तु–११ लाई ३–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको थियो ।

