जेन-जी प्रदर्शनमा भागेका १४ हजारमध्ये ५७ सय कैदीबन्दी अझै फरार

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं । जेन-जी प्रदर्शनका क्रममा विभिन्न कारागार र बालसुधारगृहबाट भागेका १४ हजार ५०० भन्दा बढी बन्दीमध्ये झण्डै ५ हजार ७०० अझै फरार छन्।प्रदर्शनको अराजक अवस्थाको फाइदा उठाउँदै २८ वटा कारागार र ९ वटा बालसुधारगृहबाट गरी कुल १४ हजार ५५३ बन्दी भागेका थिए।

कारागार व्यवस्थापन विभागका अनुसार, हालसम्म ८ हजार ८५१ बन्दी मात्र कारागार फर्किएका छन्, जसमा ८ हजार ५१० कैदी र ३४१ बालबन्दी छन्।

विभागका निर्देशक चोमेन्द्र न्यौपानेले ५ हजार ७९ कैदी र ६१८ बालबन्दी गरी कुल ५ हजार ६९७ जना अझै फरार रहेको जानकारी दिए।

फरार कैदीबन्दीका कारण समाजमा सुरक्षा चुनौती बढेपछि सरकारले उनीहरूलाई फिर्ता ल्याउन विशेष अभियान सञ्चालन गरिरहेको छ।

गृह मन्त्रालयले असोज १० गते दिएको कारागार फर्कने अल्टिमेटमको समयसीमा सकिएपछि अहिले सुरक्षाकर्मीले फरार बन्दीको खोजी र पक्राउलाई तीव्र बनाएको छ।

यसका लागि हरेक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ समेत गठन गरिएको छ।

प्रदर्शन र भाग्ने क्रममा सुरक्षा कारबाही र झडपमा परी १० जना बन्दीको मृत्युसमेत भएको थियो।

रामेछापमा तीन र धादिङमा दुई कैदीको गोली लागेर मृत्यु भएको थियो भने नौवस्ता बालसुधार गृहमा भएको झडपमा पाँच बालबन्दीले ज्यान गुमाएका थिए।

सरकारले फरार रहेका कैदीबन्दीलाई अविलम्ब कारागारमा फर्किन सूचित गर्दै अटेर गरेमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।

हाल देशका ७२ जिल्लामा रहेका ७५ वटा कारागारमा विभिन्न कसुरमा सजाय भोगिरहेका ३० हजार ६४६ कैदीबन्दी रहेका छन्। धनुषा, बारा, भक्तपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र पूर्वी रुकुममा भने कारागार छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *