जनहित अनलाइन, कपिलवस्तु । शिक्षा क्षेत्रमा छोटो समयमै उत्कृष्ट पहिचान गराउन सफल बाणगंगाको जीतपुर मन्टेश्वरी स्कुलले अब आफ्नै भवन बाट पठनपाठन कार्य सुरु गर्ने भएको छ । सोमबार वसन्त पञ्चमीको अवसर पारेर बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले उक्त भवनको उद्घाटन गर्नुभएको हो ।

भवनको उद्घाटन गर्दै मेयर अर्यालले मन्टेश्वरी स्कुलले बालबालिकाहरुलाई किताबी ज्ञान मात्र नभएर साँस्कार, चालचलन सिकाउनुपर्नेमा जोड दिनुभयो । बलबालिकाको मन्टेश्वरी पहिलो तहको विद्यालय भएको भन्दै सानो तहदेखि नै हरेक पक्षलाई बलियो बनाएर लैजानुपर्ने बताउनुभयो । मेयर अर्यालले सामुदाियक र संस्थागत रुपमा रहेका मन्टेश्वरीहरुलाई नगरले अभिभावकत्व प्रदान गर्दै आएको समेत बताउनुभाये ।


मन्टेश्वरीका संचालक असिम कँडेल क्षेत्रीले बालबालिकाहरुको आवश्यकता र अभिभावकहरुको मागलाई ध्यानमा राखेर आफ्नै भवन निर्माण गरिएको स्पष्ट पारे । उनले बालबालिकाहरुको मनोविज्ञानलाई बुझेर मन्टेश्वरीले आफ्ना शैक्षिक तथा सिर्जनात्मक क्रियाकलाप संचालन गर्दै आएको बताए । उनले अभिभावकको पहिलो रोजाईमा जीतपुर मन्टेश्वरी पर्नुको मुख्य कारण पारिवारिक वातावरण नै भएको बताए । उनले अभिभावकको विश्वासलाई कायम गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए ।
संचालक विकास शर्माले सुविधा सम्पन्न यस भवनमा बालबालिकामैत्री वातावरणसहितको व्यवस्थापन गरिएको बताए । उनले यस मन्टेश्वरीमा स९साना बालबालिकालाई आवश्यक सामग्रीसहित रमाईलो वातावरणको व्यवस्था मिलाईएको बताए ।
स्वागत मन्तव्य राख्दै संस्थापक अध्यक्ष समेत रहेका संचालक सुसिल पौडेलले जीतपुर मन्टेश्वरी स्कुललाई अभिभावकको मागअनुसार स्तरोन्नति गर्दै लगिने बताए । उनले नगरले कक्षा १ सम्म संचालन गर्न स्वीकृत दिनुपर्ने माग समेत राखे । उनले संचालक समिति जीतपुर मन्टेश्वरीलाई जिल्लाकै एक उत्कृष्ट गन्तव्य रुपमा विकास गर्ने गरि लाग्ने तयारी रहेको बताए ।
बाणगंगा १ जितपुरमा अवस्थित उक्त स्कुल स्कुल असिम कँडेल क्षेत्री र विकास शर्माको संयुक्त लगानीमा विगत ६ बर्षदेखि संचालन हुदैं आएको छ ।
कार्यक्रममा कपिलवस्तु उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष डोकलराम घिमिरे, व्यापार संघका अध्यक्ष खिमानन्द पौडेल समाजसेवी सुर्य बराल लगायतले सबै बालबालिकाहरुको उत्कृष्ट गन्तव्यका रुपमा जीतपुर मन्टेश्वरी विकास भईरहेको भन्दै खुशी व्यक्त गरेका थिए ।
पूर्णचन्द्र परियारको संचालनमा सम्पन्न उक्त कार्यक्रममा सुसिल पौडेलले स्वागत मन्तव्य राखेका थिए ।


