गुल्मी । गुल्मीमा दुई सन्तानसहित आमा बेपत्ता भएकी छिन्। जिल्लाको रेसुंगा नगरपालिका– १४ पराल्मीकी ३० वर्षीया कोपिला विक १२ बैशाखदेखि बेपत्ता छिन्। उनको साथमा एक वर्षका छोरा शीर्षक र १० वर्षीया छोरी मनिषा पनि छन्।
आफू काममा गएको बेला छोरालाई औषधी गर्न गाउँ जान्छु भनेर हिँडेको श्रीमान कृष्ण विक बताउँछन्। आफन्तहरु सवैतिर खोजतलास गर्दा पनि केहि पत्ता नलागेको विकले बताए। उनका अनुसार मजुवा हुँदै बुटवलसम्म देख्नेहरु भएपनि अरु केहि पत्ता लागेको छैन।
कोपिलाको नागरिकता छैन। काठमाडौंमा रहेका भाइसँग बुबाआमाको नागरिकता भएकाले उनले अरु बेला पनि लिन जान्छु भन्ने गरेको श्रीमानले सुनाए। तर, कहिल्यै काठमाडौं नगएको र भाइको सम्पर्क नम्बर नै नभएको विकले बताए।
आफूहरुबीच कहिल्यै घरझगडा नभएको र काम गरेरै भएपनि खुसीले राखेको विकको भनाइ छ। मजुवा प्रहरीमा कोपिला बेपत्ता भएको सूचना दिएपनि अहिलेसम्म केहि खबर नआएको विकले बताए। ‘काममा गएको मान्छे घर आउँदा छोरीछोरीसहित श्रीमती थिइनन्। प्रहरीलाई भने आफन्तकोमा खोजेँ केही पत्तो लागेन,’उनले भने।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीले सबै प्रहरी युनिटमा परिपत्र भैसकेको बताए। उनले कोपिला बिकले मोबाइल नचलाउने भएकाले खोजतलासबाहेकको उपाय नभएको बताए।

