काम छोडेर ठेकेदार सम्पर्कविहीन भएपछि कुटवा खोला पुल निर्माण अलपत्र

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

घोराही। घोराही उपमहानगरपालिका–१७ को गैरागाउँ–घनिबगिया सडकखण्ड अन्तर्गत कुटवा खोला पुल निर्माण कार्यको काम अलपत्र परेको छ । २०७९ पुस १३ गतेसम्म पुल निर्माणको काम सक्ने गरी २०७८ असार १४ गते पूर्वाधार विकास कार्यालय दाङ र महादेव खिम्ती/अञ्जना/जलजला जेभी काठमाडौँका बिचमा सम्झौता भएको थियो ।

करिब चार करोड १७ लाख २४ हजार रुपियाँमा पुल निर्माणको सम्झौता गरेको निर्माण कम्पनीको लापरबाहीका कारण पुल निर्माण कार्य अलपत्र परेको पूर्वाधार विकास कार्यालय दाङका प्रमुख मनिष अर्याल बताउनुहुन्छ । कार्यालय प्रमुख अर्यालका अनुसार करिब डेढ वर्षमा पुल निर्माणको काम सक्नुपर्ने भए पनि निर्माण व्यवसायीको लापरबाहीका कारण अहिलेसम्म पुलको पिल्लर उठाउनेबाहेक अन्य काम हुन सकेको छैन ।

पुल निर्माणको जिम्मा महादेव खिम्ती/अञ्जना/जलजला जेभी काठमाडौँले लिए पनि काम भने एकल रूपमा जलजला निर्माण सेवाले गर्दै आएको थियो तर पुलको दुवैतिरका दुई वटा पिल्लर उठाएर करिब सात/आठ महिनादेखि निर्माण व्यवसायीले काम गर्न छोेडेको कार्यालय प्रमुख अर्याल बताउनुहुन्छ । कार्यालय प्रमुख अर्यालले भन्नुभयो, “निर्माण कम्पनीका प्रतिनिधिले काम गर्छु भन्ने तर नगर्ने गरेका कारण एक वर्षअघि सक्नुपर्ने काम अहिलेसम्म करिब ३५ प्रतिशत मात्रै काम भएको छ ।” कार्यालयका अनुसार निर्माण कम्पनीले करिब ३० प्रतिशत भुक्तानी लिइसकेको छ ।

निर्माण व्यवसायीको लापरबाहीका कारण पुल निर्माणको काममा ढिलाइ भएपछि कार्यालय सम्झौता रद्द गर्ने तयारीमा रहेको कार्यालय प्रमुख अर्याल बताउनुहुन्छ । नियमित रूपमा काम पनि नगर्ने र बोलाउँदासमेत सम्पर्कमा नआउने गरेका कारण अहिलेको निर्माण कम्पनीबाट काम नहुने अवस्था रहेकाले चालु आर्थिक वर्र्षभित्र सम्झौता रद्द गरेर नयाँ ठेक्का लगाउने तयारीमा कार्यालय पुगेको  उहाँले बताउनुभयो । कार्यालय प्रमुख अर्यालले भन्नुभयो, “काम नै नगर्ने निर्माण व्यवसायीबाट पुल बन्ने अवस्था देखेका छैनाैँ । त्यसैले अहिलेको सम्झौता खारेज गरेर नयाँ टेन्डरको तयारीमा लागेका छौँ ।” पुल निर्माणको काम अलपत्र पर्दा स्थानीयलाई बर्सातको समयमा हिँडडुलसँगै यातायातका साधन सञ्चालनमा समस्या हुने गरेको छ ।  -गोरखापत्र 

Leave a Reply

Your email address will not be published. Required fields are marked *