कपिलवस्तु । प्रतिनिधिसभा पुन:स्थापना मुद्दा अदालतमा रहेको बेला कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया तीव्र बनाएको छ । संस्थापन र इतर पक्षबीच आफ्ना निकटकै उम्मेदवार सिफारिस गराउने प्रयास सुरु भएको छ।
सोमबार क्षेत्र नं. २ को क्षेत्रीय समितिको बैठक तौलिहवा जिल्लास्तरीय पार्टी कार्यालयमा बसेर सर्वसम्मतिले उम्मेदवार सिफारिस गरेको छ। प्रत्यक्षतर्फ सुरेन्द्रराज आचार्य, विक्रमसिंह थापा, गोपीकृष्ण शर्मा र रवीन्द्रनाथ ठाकुरको नाम सिफारिस भएको छ। आचार्य, थापा र ठाकुर संस्थापन इतर पक्षका हुन् भने शर्मा संस्थापन पक्षमा छन्।
समानुपातिकतर्फ मिना केसी, रिना नेपाल, माया ज्ञवाली र फागुपूसाद धोबी तथा राष्ट्रिय सभा सदस्यतर्फ जवाहरलाल थारू, रेश्मीराज अधिकारी र दिपेन्द्रनाथ शुक्लाको नाम सिफारिस भएको छ । समानुपातिक र राष्ट्रिय सभा उम्मेदवारमध्ये अधिकांश संस्थापन इतर पक्षका छन्।
क्षेत्र नं. ३ मा प्रत्यक्षतर्फ वीरेन्द्रकुमार कानोडियाको एकल नाम सिफारिस भएको छ। उनले पूर्वमा जिल्ला विकास समिति उपसभापति, सांसद, प्रदेशसभा सदस्य र राज्य मन्त्रीको भूमिका निर्वाह गरिसकेका छन्। समानुपातिक उम्मेदवारका लागि ब्रह्मानन्द उपाध्याय, अखिल मिया र तारा चौधरीको नाम जिल्ला कार्यसमितिमा पठाइने निर्णय भएको छ।
क्षेत्र नं. १ मा भने बैठक स्थगित भएको छ। निवर्तमान प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहको नाम प्रत्यक्षतर्फ सिफारिस हुन नसक्दा प्रभाव क्षेत्र नं. १ मा परेको छ।
क्षेत्रीय सभापति अब्दुल मन्नान खानका अनुसार बुधबार बैठक बसेर टुंग्याइनेछ। संस्थापन इतर पक्षमा पनि विभाजन रहेको छ, क्षेत्रीय समितिमा पूर्वमन्त्री दीपकुमार उपाध्याय पक्षको बहुमत छ।


