जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघको प्रेस सल्लाहकारमा रेडियो हर्टविटका स्टेसन म्यानेजर आशोक पौडेललाई मनोनित गरिएको छ । संघको मंगलबार बसेको बैठकले प्रेस सल्लाहकार सहित विशिष्ट सदस्य र कानुनी सल्लाहकार मनोनित गरेको हो । पौडेलले यस अघिपनि प्रेस सल्लाहकारको जिम्मेवारी प्राप्त गरिसकेका छन । उनी वैखरी अनलाईनका प्रधान सम्पादक समेत रहेका छन ।
बैठकले विशिष्ट सदस्यमा पूर्वअध्यक्ष उमानाथ पौडेल, कानुनी सल्लाहकारमा गुणानिधि भुसाललाई मनोनित गर्ने निर्णय गरेको हो । संघका पूर्वअध्यक्षहरुमध्ये एक जना विशिष्ट सदस्य हुने संघको विधानमा उल्लेख छ ।
सोही अनुसार संघका पूर्वअध्यक्ष उमानाथ पौडेल विशिष्ट सदस्यमा मनोनित भएको संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले जानकारी दिए । पौडेल उद्योग बाणिज्य महासंघको कार्यकारिणी सदस्य समेत हुन् । कानुनी सल्लाहकारमा मनोनित गुणानिधि भुसालले यस अघि पनि कानुनी सल्लाहकारको जिम्मेवारी निर्वाह गरेका थिए ।
साथै बैठकले सचिवालय सदस्य समेत चयन गरेको छ । विशिष्ट सदस्य समेत रहने गरि अध्यक्ष देखि सह कोषाध्यक्ष सम्मका पदाधिकारी सचिवालय सदस्यमा रहने संघका महासचिव नवदत्त घिमिरेले बताउनुभयो । कार्यसमितिका सदस्य तथा क्षेत्रगत समितिका संयोजक तथा सदस्यहरु आमन्त्रीत सदस्यमा रहने उहाँले बताउनुभयो ।

