कपिलवस्तुमा ६ महिनामा ९२ साना उद्योग र ६२ व्यवसायिक फर्म बन्द

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । पछिल्ला वर्षहरूमा आर्थिक चुनौतीका कारण कपिलवस्तुमा साना उद्योग र व्यवसायिक फर्म बन्द हुने क्रम तीव्र भएको छ। चालु आर्थिक वर्ष २०८१र८२ को साउनदेखि पुससम्मको अवधिमा ९२ साना घरेलु उद्योग र ६२ व्यवसायिक फर्म बन्द भएका छन्।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष खनालका अनुसार कोरोनापछिको आर्थिक मन्दी र लगानीको अभावका कारण उद्योग र फर्म सञ्चालन गर्न असहज हुँदै गएको छ। खनालले भने, ‘अधिकांश साना उद्योग र फर्महरूले घाटा सहन नसकेर नविकरण नगरी बन्द गरेका छन्।’

गत आर्थिक वर्ष २०८०र८१ मा २६९ साना उद्योग र १३१ व्यवसायिक फर्म बन्द भएका थिए। यस वर्ष पनि बन्द हुने उद्योग र फर्महरूको संख्या उल्लेखनीय रहेको खनालले बताए।

उनका अनुसार, कृषि, वन, उत्पादनमूलक सेवा, र पर्यटन क्षेत्रका उद्योगहरूमा बन्द हुने क्रम उच्च छ। यस्तै, किराना पसल, हार्डवेयर, कपडा, मदिरा, कस्मेटिक, र मोबाइल पसलजस्ता व्यवसायिक फर्महरूले पनि कारोबार गर्न नसकेर बन्द गर्नुपरेको छ।

उद्योगी व्यवसायीहरूका अनुसार युवाहरूको विदेश पलायनले पनि उद्योग र व्यापारमा नकारात्मक प्रभाव पारेको छ। कपिलवस्तु उद्योग व्यापार संघका अध्यक्ष गणेश क्षेत्रीका अनुसार, वाणगंगा नगरपालिकासहित गजेहडा र बनगाई चोकका धेरै पसल र उद्योग बन्द भएका छन्। ‘पहिले चलायमान रहेका पसलहरू अहिले घाटामा छन्, भाडा तिर्न पनि नसक्ने अवस्था छ,’ उनले भने।

उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य जमसेर अली मियाले उद्योग सञ्चालनका लागि सरकारले ठोस नीति ल्याउन नसकेको गुनासो गरे। ‘साना उद्योग र व्यापारलाई प्रवर्द्धन गर्ने सरकारी कदम नहुँदा धेरै उद्योग चाँडै बन्द हुने अवस्थामा पुगेका छन्,’ उनले भने।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १९० साना उद्योग र २२५ व्यवसायिक फर्म दर्ता भएका छन्। तर, बन्द हुनेहरूको संख्या उच्च छ, जसले कपिलवस्तुको आर्थिक क्रियाकलापमा गम्भीर असर पुर्‍याएको छ।

क्षेत्रीले भने, ‘उद्योग र व्यापारको संख्या घट्नु आर्थिक मन्दीको स्पष्ट संकेत हो। यसले समग्र जिल्लाको आर्थिक गतिविधिमा नकारात्मक प्रभाव पारेको छ।’

सरकारी तहबाट साना व्यवसाय र उद्योगका लागि विशेष प्रोत्साहनको व्यवस्था गर्न नसकिए, कपिलवस्तुमा साना उद्योग र व्यापारको भविष्य अझै कठिन हुने देखिन्छ। -किरणमान बज्राचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *