कपिलवस्तु । कपिलवस्तुमा प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका वडा नं. ८ सानो गणेशपुर चोकस्थित चन्द्रौँटाबाट कृष्णनगर जाँदै गरेको मोटरसाइकलमा सवार दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट एक थान पेस्तोल र ५ राउण्ड गोली बरामद गरेको छ । भारत उत्तर प्रदेशको बस्ती जिल्लाका गौतम पिपरा गाउँका ३५ वर्षे प्रितम कुमारले चलाएको मोटरसाइकल पछाडि बसेका भारत उत्तरप्रदेशको देबापार हरनखा बस्ने २२ वर्षे सुरज द्विवेदीका साथबाट प्रहरीले गएराति बरामद गरेको हो ।
प्रहरीले मोटरसाइकल चेकजाँचका क्रममा द्विवेदीले कम्मरपछाडि लुकाई छिपाई राखेको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रबक्ता नायब उपरीक्षक हरिबहादुर वलीले बताए । ५ राउण्ड गोली लोड रहेको अवस्थामा मेड ईन कानपुर लेखेको पेस्तोल बरामद गरिएको हो ।
त्यस्तै, उनीहरुसंग फेरामाईन ईन्जेक्सन ३ थान, प्याक गरिएको सिरिन्ज दुई थान र केही नाम नखुलेको औषधि केही पत्तापनि बरामद भएको छ ।

