बाणगंगा । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले श्रावण महिनामा जिल्लाभर भएका प्रहरी कामकारवाहीको प्रगति विवरण सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तौलिहवामा प्रमुख प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्ट तथा कपिलवस्तु जिल्लाका पत्रकारहरुको उपस्थितिमा आयोजित मासिक पत्रकार भेटघाट कार्यक्रममा कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले प्रगति विवरण प्रस्तुत गर्नुभएको हो ।
श्रावण महिनामा मात्र जिल्लाभर ६७ वटा सवारी दुर्घटना भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ । ती दुर्घटनामा परि ३ जनाले ज्यान गुमाएका छन् भने १४३ जना घाइते भएका छन् । सो अवधिमा चौपायाको भने कुनै मृत्यु नभएको जानकारी दिइएको छ ।
प्रहरीका अनुसार दुर्घटनाको प्रमुख कारण सवारी चालकको लापरबाही, तीव्र गति र सावधानी नअपनाउनु रहेको छ । दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, सडकमा कडाइका साथ चेकजाँच गर्ने तथा चालकलाई अनुशासनमा ल्याउने कार्यलाई प्राथमिकता दिने योजना रहेको बताइएको छ ।


