कपिलवस्तु । सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय कविलपस्तुले राष्ट्रिय परिचयपत्रको सेवा शनिबार समेत प्रदान गर्ने भएको छ ।
भोलि शनिबार पनि सदाझैं कार्यालय खुला गरेर बिहान १० बजेदेखि राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीलाई सुविधा प्रदान गरिने प्रशासनले जनाएको छ । सरकारी काममा क्रमशः राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि अहिले प्रशासनमा परिचयपत्र बनाउन आउनेको भिड लाग्ने गरेको छ । चाप बढेसँगै परिचयपत्र बनाउने फाँटमा एउटा काउन्टर समेत थपिएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए ।यसअघि यहाँ दुई काउन्टर मात्र रहेका थिए ।
प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेपछि कुपन प्रणाली लागू गरिएको छ । कपिलवस्तु, महाराजगन्ज र बुद्धभुमि नगरपालिका तथा यशोधरा, मायादेवी र सुद्धोधन गाउँपालिकाका सेवाग्राहीको काम जिल्ला प्रशासन कार्यालयबाट हुँदै आएको छ ।


