सरिता थारु, कपिलबस्तु । बन , वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय, पर्यटन डिभिजन कार्यालय रुपन्देहीको आयोजनामा संचालन भएको ५ दिने थारु जातीका बड्घरहरुका लागि नेतृत्व विकास तालिम सम्पन्न भएको छ । विहीबार देखि सुरु भएको तालिममा कपिलबस्तु जिल्लाका ४ वटा पालिका बाणगंगा नगरपालिका, र कपिलवस्तु नगरपालिकाका गरि ३५ बढी बड्घरहरुको सहभागिता रहेको थियो ।
तालिमको समापन सत्रमा थारु कल्याणकारिणी सभाका केन्द्रिय सदस्य सुमित्रा थारुले बोल्दै थारु समुदायको संस्कृती, सभ्यता र पहिचानलाई बचाएर राख्नका निम्ती बड्घरहरुको शसक्त नेतृत्व विकास हुन आवश्यक रहेको बताउनुभएको छ । केन्द्रिय पार्षद उमाशंकर चौधरीले प्रदेशमै पहिलो पटक थारु समुदायका बड्घर, भलमन्साहरुको क्षमता विकास गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरेको प्रति पर्यटन डिभिजन कार्यालयलाई धन्यवाद दिदै फेरि यस्ता कार्याक्रमको आयोजना गर्नुपर्ने औल्याउनुभयो ।
यस्तै कार्यक्रममा थारु कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष पवन कुमार चौधरीले बोल्दै अब जिल्लामा थारुहरुको समिती नै गठन गरि उहाहरुको क्षमता विकासका लागि थारुकल्याणकारिणी सभा पनि लागि पर्नेमा जोड दिनुभयो । उहाले जिल्लाको थारु बाहुल्यता रहेको पालिकामा पालिका स्तरिय समिती गठन गर्ने र स्थानीय तहसंग समन्वय गर्दै क्षमता विकास तथा संस्कृती संरक्षणका कार्यक्रमहरु गर्ने योजना रहेको समेत बताउनुभयो ।
प्रदेश सरकारको आर्थिक बर्ष २०८०।८१ को स्विकृत कार्यक्रम अनुसार प्रदेशको ३ वटा जिल्ला कपिलबस्तु , रुपन्देही र नवलपरासीमा यो कार्यक्रम राखिएको पर्यटन डिभिजन कार्यालयका प्रमुख गिता आचार्यले बताउनुभयो । अन्य जिल्लाको तुलनामा कपिलबस्तु जिल्लामो बड्घरको सहभागिता उत्साहजनक रहेको भन्दै दोस्रो चरणको तालिम पनि कपिलबस्तुमा यथाशक्य छिटो संचालन गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागिहरुका तर्फबाट बड्घरहरु राजेन्द्र चौधरी, भिखु थारु, सन्तोष चौधरी लगाएतले बोल्दै बड्घरहरुका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रम संचालन गर्न माग गर्नुभएको थियो । थारु बड्घरहरुले धेरै बर्ष देखि गाँउ समाजको नेतृत्व गरे पनि कानुनी सम्बन्धी जानकारी नहुदा समस्या हुने गरेको बताउदै यो तालिम निकै फलदायी रहेको उहाहरुको भनाई थियो ।
तालिममा थारु समुदाय तथा बड्घरहरुको इतिहास, विकास , वर्ततमान अवस्था, थारु भाषा कला संस्कृती लगाएत कानुन सम्बन्धी जानकारी लगाएतको बारेमा प्रशिक्षण दिइएको थियो । तालिमको समापन सत्रमा, थारु कल्याणकारिणी सभाका केन्द्रिय सदस्य, जन्जिर प्रसाद थारु, भोजराज थारु, जिल्ला सल्लाहकार महादेव चौधरी, जिल्ला सचिव सन्तराम चौधरी लगाएतले बोल्नुभएको थियो । समापन सत्रको संचालन अधिकृत जनक राज खनालले गर्नुभएको थियो भन राजकुमार घिमिरेको स्वागतमा सम्पन्न भएको हो ।

