एक वर्षमा देशभर ५९ हजार बढी मुद्दा दर्ता, बैंकिङ कसुरका सबैभन्दा धेरै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ । नेपाल प्रहरीले पछिल्लो एक वर्षमा विभिन्न घटनाका ५९ हजार ०६१ वटा मुद्दा दर्ता भएको जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीम ढकालले बिहीबार ‍पछिल्लो एक वर्ष (२०७९ चैत्र १० गतेदेखि २०८० फागुन ३० गतेसम्म) मा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धि सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।

उनका अनुसार सबैभन्दा धेरै (१७ हजार ३९७) अपराधका घटना काठमाडौँ उपत्यकामा भएका छन् भने सबैभन्दा कम (१ हजार ९६५) अपराधका घटना कर्णाली प्रदेशमा भएका छन्।

यस्तै, बैंकिङ कसुरका मात्रै देशभरि १३ हजार २७७ वटा मुद्दा दर्ता भएको ढकालले जानकारी दिए। महिला तथा बालबालिकासम्बन्धी २१ हजार १९७ वटा घटनाहरू दर्ता भएका छन्। जसमध्ये सबैभन्दा धेरै घरेलु हिंसाका १६ हजार ७४१ वटा निवेदनहरू दर्ता भएका छन् भने ८ हजार  ३४९ निवेदनहरू मिलापत्रसमेत भइसकेको उनले बताए। उनका अनुसार महिला तथा बालबालिका सम्बन्धी अपराधहरू अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा धेरै दर्ता भएका छन्।

यस्तै, पछिल्लो एक वर्षमा जबरजस्ती करणीका मात्रै २ हजार ४६८ वटा मुद्दाहरू दर्ता भएका छन्। सो अवधिमा लागुऔषधका ४ हजार २८४ वटा मुद्दा दर्ता भएका छन् भने ६ हजार ५०८ जना प्रतिवादीहरू पक्राउ परेका उनले ढकालले जानकारी दिए।

१ वर्षको अवधिमा १३ हजार १२२ जना फरार अपराधीहरूलाई नियन्त्रणमा लिई सजायको लागि सम्बन्धित अदालत पेश गरिएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *